इटहरी / सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२४’ को आवेदन खुला भएको छ। आयोजक संस्था द हिडन ट्रेजरले एक कार्यक्रमबीच आवेदन खुलासँगै ग्रान्ड फिनालेको मिति पनि घोषणा गरेको हो । बुधबारबाट नेपाली युवतीहरुले जेठ १ गतेसम्म अनलाइनमार्फत आवेदन भर्न सक्नेछन् ।
प्रतियोगितालाई फराकिलो बनाउँदै यस पटक मिस नेपाल प्रतियोगिताका लागि सहभागी खोजी बिर्तामोड, इटहरी, वीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज, पोखरा, सुर्खेत र काठमाडौंमा हुनेछ । प्रतियोगीहरूको फाइनल अडिसन जेठ ५ गते काठमाडौंमा हुनेछ। त्यहाँबाट छानिएका प्रतियोगिहरुले ग्रान्ड फिनालेका लागि भिड्न पाउनेछन् । मिस नेपालको ग्रान्ड फिनाले भने ३ अगस्ट अर्थात साउन १९ गते गोदावरी स्थित सनराइज कन्भेन्नान सेन्टरमा हुनेछ ।
१८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकता सहित इच्छुक युवतीले आवेदन दिन सक्ने छन्। मिस नेपाल प्रतियोगितामा न्यूनतम् ५ फिट ३ इन्च उचाइ भएकाले सहभागी हुन पाइने मापदण्ड छ । प्रतियोगितामा भाग लिनका लागि आवेदनको कुनै पनि शुल्क लाग्ने छैन।
यस वर्षको प्रतियोगितामा तीन मुख्य विजेताहरु हुनेछन् जसमा मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल रहनेछन्। यस वर्षको मिस नेपाल प्रतियोगितामा डाबर वाटिका मुख्य प्रायोजक रुप छ । कार्यक्रममा मिस नेपाल २०२३ का विजेताहरुसहित पूर्वमिस नेपाल २०२२ की प्रियंका रानी जोशीको उपस्थिति थियो।
प्रियंका रानी जोशी भारतमा हालै सम्पन्न मिस वर्ल्डमा सहभागी भइन्। टप ४० पुगेकी जोशीले एशिया र ओशिनिया क्षेत्रबाट प्रतिष्ठित ब्यूटी विथ पर्पस प्रोजेक्ट जितेकी थिइन्।
Discussion about this post