इटहरी/ फिल्म ‘१२ गाउँ’को नयाँ गीत ‘कसो कसो’ सोमबार युट्युबमा सार्वजनिक गरिएको छ । बिराज भट्ट निर्देशित यस फिल्मको रोमान्टिक गीतमा मुख्य अभिनेता समीर भट्ट र अभिनेत्री सोनू चन्द्रपालको आकर्षक केमेस्ट्री प्रस्तुत गरिएको छ । समीर, बिराज भट्टका आफ्नै छोरा हुन् भने सोनू भारतीय टेलिभिजन सिरिजकी चर्चित कलाकार हुन् । गीतमा नीरज सिंहको सङ्गीत, सुवास चन्द्र ढुङ्गेलको शब्द र सुगम पोखरेल तथा सदीक्षा कट्टेलको स्वर रहेको छ ।
यतिबेला यो समाचार तयार गर्दैगर्दा भिडियोलाई २ लाख ७५ हजार पटक हेरिएको छ भने ३३ हजार लाईक र ३ हजार ४ सय बढीले सकारात्मक प्रतिक्रिया दिएका छन् भने युट्युब नेपाल ट्रेन्डिङको म्युजिक क्याटोगरी अन्तर्गत ट्रेन्डिङको १७ औं स्थानमा पुगेको छ । यो क्रम निरन्तर उकालो लागिरहेको छ ।
रामजी लामिछानेले गीतको कोरियोग्राफी गरेका छन् भने यसलाई भारतमा प्रख्यात गायक कैलाश खेरको ‘कैलासा स्टुडियो’मा रेकर्ड गरिएको हो । छायांकन पनि भारतमै गरिएको छ । ‘१२ गाउँ’को यो दोस्रो गीत हो । यसअघि सार्वजनिक भएको पहिलो गीत ‘सिनेमा हेर्न जाउँ’ले दर्शकहरूमा राम्रो चासो र चर्चा पाएको थियो । फिल्मको प्रदर्शन मिति असोज २४ (फूलपाती)का दिन तोकिएको छ । हेर्नुस् गीत ।
फिल्ममा समीर र सोनूसहित बिराज भट्टको पनि मुख्य भूमिका रहेको छ । यसबाहेक पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दिया मास्के, अर्जुनजंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, भीष्म जोशी र दक्षिण भारतीय चर्चित कलाकार स्टन्ट सिल्भाको पनि अभिनय रहेको छ ।
‘१२ गाउँ’को प्राविधिक पक्षमा महेश पौडेलको छायाङ्कन, अर्जुन पोखरेल र नीरज सिंहको सङ्गीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी, प्रवीण केएल र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । फिल्मको कथा, पटकथा र संवाद सन्तोष सरकारले तयार पारेका छन् । द्वन्द्व निर्देशन दक्षिण भारतका अनुभवी स्टन्ट निर्देशक सिल्भाले गरेका छन्, जसले ५० भन्दा बढी दक्षिण भारतीय फिल्महरूमा द्वन्द्व निर्देशन गरिसकेका छन् ।
Discussion about this post