इटहरी/ नेपाली मनोरञ्जन क्षेत्रका दुई चर्चित अनुहार कुमार कट्टेल ‘जिग्री’ र दीपककुमार आचार्य ‘काकु’ बीच लामो समयदेखि चल्दै आएको मनमुटाव अन्ततः टुंगिएको छ । नयाँ वर्षको सुखद अवसर पारेर यी दुईले आफ्नो बिग्रिएको सम्बन्धलाई सुधार्दै नयाँ फिल्म ‘चिरञ्जीवी भवः’ मार्फत पुनः सहकार्य गर्ने घोषणा गरेका हुन् ।
कुनै समय चर्चित हास्य टेलिश्रृङ्खला ‘भद्रगोल’ बाट एकसाथ यात्रा सुरु गरेको यो जोडीलाई दर्शकले निकै रुचाएका थिए । तर, कुमार कट्टेलले निर्देशन गरेको फिल्म ‘लाज शरणम्’ मा कथाको क्रेडिट आफूलाई नदिएको भन्दै दीपक असन्तुष्ट बनेपछि उनीहरूबीच मनमुटाव भएको थियो । यही असमझदारी र विवादकै कारण दीपकले अर्को लोकप्रिय सिरियल ‘सक्किगोनि’ समेत छाडेका थिए, जसले यी दुई सहकर्मीबीचको दुरी निकै बढाएको थियो ।

तर, समयसँगै दुवैको सम्बन्धमा नयाँ मोड आएको छ । पछिल्लो समय दीपककुमार आचार्यले निर्देशन गरेको फिल्म ‘परान’ ले बक्स अफिसमा ठूलो सफलता हासिल गरेपछि उनीहरूबीचको सम्बन्ध सुधारतर्फ अघि बढेको देखिन्छ । परान सफल हुनुमा कुमारले पनि पछाडि बसेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थीए । पुरानो विवादलाई विश्राम दिँदै उनीहरू अब नयाँ ऊर्जाका साथ दर्शकमाझ आउन लागेका हुन् ।
@parikalanewsofficial
अब बन्ने नयाँ फिल्म ‘चिरञ्जीवी भवः’ मा कुमार कट्टेलले कथाको जिम्मा लिएका छन् भने निर्देशनको जिम्मा दीपककुमार आचार्यले नै सम्हाल्नेछन् । यसैगरी, फिल्मको स्क्रिप्ट तयार पार्ने काम सविन अधिकारी र वसन्त न्यौपानेले गरिरहेका छन् । विवाद र मनमुटावलाई पन्छाउँदै गरिएको यो नयाँ सम्झौताले उनीहरूको मित्रता र व्यावसायिक सम्बन्ध पुनः मजबुत भएको स्पष्ट पारेको छ । दर्शकहरूले पनि यो जोडीको पुनरागमन र उनीहरूको नयाँ फिल्म ‘चिरञ्जीवी भवः’ लाई चासोका साथ हेरेका छन् ।















Discussion about this post