इटहरी/ नेपाली नयाँ वर्ष तथा चर्चित अभिनेता दयाहाङ राईको जन्मदिनको विशेष अवसर पारेर नयाँ फिल्म ‘पेन्सन पट्टा’को प्रदर्शन मिति घोषणा गरिएको छ । गुरुङ फिल्मका ‘गडफादर’ मानिने माओत्से गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म आगामी भदौ २६ गते, अर्थात् नारीहरूको महान् चाड हरितालिका तीजको अवसर पारेर देशभर प्रदर्शनमा आउने भएको छ ।
नयाँ वर्षको दिन फिल्मको टाइटल पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले रिलिज डेट तय गरेको हो । फिल्मको नाम ‘पेन्सन पट्टा’ सुन्दा भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि यसले एउटा लोभी केटा कसरी दानी बन्छ भन्ने रोचक र फरक कथा पेस गर्ने निर्देशक गुरुङले बताएका छन् ।

रिलिज मितिबारे बोल्दै निर्देशक गुरुङले भने, “अहिलेसम्म यो मितिमा हामी मात्रै छौं । वितरक र निर्माण टिमसँगको सल्लाहमा राम्रो दिन रोजेर प्रदर्शन मिति घोषणा गरेका छौं । यसले बक्स अफिसमा राम्रो व्यापार गर्नेमा हामी पूर्ण विश्वस्त छौं ।” माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्ममा नेपाली फिल्म क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति रहेको छ । फिल्ममा दयाहाङ राई, सुनिल थापा, बुद्धि तामाङ, विल्सन विक्रम राई र पशुपति राई जस्ता स्थापित अनुहारहरू मुख्य भूमिकामा देखिनेछन् ।
यसका साथै गौमाया गुरुङ, राज थापा काउचा, लुनिभा तुलाधर, यासेली राई, डिबी गुरुङ र प्रतीक्षा गुरुङको पनि अभिनय रहनेछ । यसै फिल्ममार्फत विश्वास गुरुङ र माया गुरुङले नेपाली फिल्म क्षेत्रमा अभिनेता अभिनेत्रीको रुपमा डेब्यू गर्दैछन् । फिल्ममा निर्देशक माओत्से गुरुङसहित मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहेको छ ।
@parikalanewsofficial
प्राविधिक तर्फ सुशन प्रजापतिले छायांकन गरेको यस फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरिरहेका छन् । त्यस्तै, मनोज थापा मगर, शिव बराइली र सुरुङ गुरुङको संगीत रहेको फिल्मको कास्टिङ डिरेक्टर सुरज तमु हुन् । फिल्मको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने र प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ रहेका छन् । यो फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशभर वितरण गर्ने जिम्मा लिएको छ ।














Discussion about this post