इटहरी/ छायांकनको क्रममा रहेको बहुप्रतीक्षित फिल्म ‘पाँच पाण्डव’मा अन्तिम समयमा आएर मुख्य कलाकार हेरफेर भएको छ । कलाकार सागर लम्साल ‘बले’ कानुनी विवादमा तानिएपछि उनको स्थानमा अभिनेता सुशील सिटौलालाई भित्र्याइएको हो । एक युवतीले बलात्कारको आरोप लगाएपछि प्रहरी नियन्त्रणमा पुगेका सागर फिल्मबाट बाहिरिएका हुन् ।
हाल उनी हाजिरी जमानीमा रिहा भइसकेका छन् । उनको बहिर्गमनसँगै सुशीलले ‘पाँच पाण्डव’मध्ये एक प्रमुख पात्रको रूपमा काम गर्ने पक्का भएको छ । फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठले सुशीललाई अनुबन्ध गरिएको पुष्टि गर्दै खुशी व्यक्त गरे । उनले भने, ‘सुशील सिटौला मुख्य भूमिकामध्ये एकमा अनुबन्ध हुनुभएको छ । हामीले खोजेस्तै अब्बल कलाकार हाम्रो फिल्ममा भित्र्याएका छौँ ।’
@parikalanewsofficial
वसन्त निरौलाको निर्देशनमा बनिरहेको यो फिल्मलाई लेखक सुशील पौडेलले ‘सोसल ड्रामा’को रूपमा व्याख्या गरेका छन् । फिल्मले महाभारतका पाँच पाण्डवको बिम्ब र चरित्रलाई प्रयोग गर्दै वर्तमान नेपाली समाजको यथार्थ कथालाई पर्दामा उतार्नेछ । यसको कथा, पटकथा र संवाद पनि पौडेलले नै तयार पारेका हुन् ।
श्याम तामाङले छायांकन गरिरहेको यस फिल्ममा नेपाली फिल्म क्षेत्रका दिग्गज र लोकप्रिय अनुहारहरूको बाक्लो उपस्थिति छ । सुशील सिटौलासँगै फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार र इभा गिरीलगायतका कलाकारहरूको दमदार अभिनय देख्न सकिनेछ ।














Discussion about this post