इटहरी/ नेपाली फिल्म उद्योगमा अभिनेत्री सँगै सफल निर्मात्रीको रूपमा आफूलाई दरिलो साबित गरिसकेकी अभिनेत्री केकी अधिकारीले दर्शकलाई फेरि अर्को उत्कृष्ट फिल्म पस्किने तयारी गरेकी छन् । गत वर्ष ब्लकबस्टर साबित भएको फिल्म ‘बोक्सीको घर’ कै सफल टिमलाई साथमा लिएर उनले आफ्नो नयाँ प्रोजेक्ट ‘स्टेशन’को निर्माण घोषणा गरेकी छन् ।
नयाँ वर्षको उल्लाससँगै केकीले सामाजिक सञ्जालमार्फत यो नयाँ यात्राको जानकारी दिएकी हुन् । समयको गतिसँगै मानिसका कथाहरू फेरिए पनि सपनाको रङ कहिल्यै नफेरिने उनको भनाइ छ । दर्शकलाई नयाँपनको आभाष दिलाउने प्रण गर्दै उनले लेखेकी छन्, “वर्ष बदलिँदा, समय बदलिँदा कथा पनि बदलिन्छ । तर, सपनाको रंग उस्तै रहन्छ । त्यही रंगले कोरेको हाम्रो नयाँ यात्रा– स्टेशन ।” उनले बदलिएको समयको माग अनुसार नै नितान्त फरक सोच र कथा लिएर आउने वाचा गरेकी छन् ।

‘केकी अधिकारी फिल्मस’ को ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा पनि पुरानै सफल टिमको जादु हेर्न पाइनेछ । सुलक्षण भारतीको कथा तथा निर्देशन रहने फिल्मको निर्माताको रुपमा बद्री अधिकारी रहनेछन् । आगामी भदौ १९ गतेलाई प्रदर्शन मिति तय गरिएको छ । घोषणासँगै सार्वजनिक गरिएको फिल्मको थिम पोस्टरले दर्शकमा निकै कौतूहल जगाएको छ । एउटा पुरानो काठको दराजजस्तो देखिने आवरणभित्र केही अस्पष्ट सामग्रीहरू राखिएको उक्त पोस्टरले यो फिल्म गम्भीर सामाजिक विषयवस्तुमा आधारित रहने संकेत गर्छ ।
@parikalanewsofficial
फिल्मको थिम र निर्माण टोलीको टुङ्गो लागे पनि पर्दामा को-को कलाकार देखिनेछन् भन्ने कुरा भने सार्वजनिक गरिएको छैन । अभिनेत्री अधिकारीले यस फिल्मका मुख्य कलाकारहरू र अन्य प्राविधिक टोलीको बारेमा भने केही समयपछि मात्रै औपचारिक जानकारी दिने बताएकी छन् । नयाँ कथा र पुरानै सफल टिमको यो जमघटले ‘स्टेशन’ प्रति दर्शकको अपेक्षा अहिलेदेखि नै बढाएको छ ।















Discussion about this post