इटहरी/ बेरोजगारी र युवा पलायनका कारण रित्तिँदै गएका नेपाली बस्तीहरूको गम्भीर कथा बोकेको नेपाली फिल्म ‘पहाड’ले आफ्नो प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया बटुलेको छ । यता यो फिल्मको अग्रिम टिकट बुकिङ पनि खुल्न सुरु भएको छ । देशभरका फिल्म हलहरुले सन्तोषजनक शो हरु दिइरहेका छन् । दिग्गज निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको यस फिल्म यही नयाँ वर्ष २०८३ को वैशाख १ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउने तयारीमा छ । देशको वर्तमान सामाजिक–आर्थिक सङ्कट र खानेपानीको चरम अभावजस्ता विषयलाई उठान गरेको फिल्म हेरेपछि प्रिमियरमा सहभागी विशिष्ट फिल्मकर्मी र सेलिब्रेटीहरूले कथावस्तु र जीवन्त अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
फिल्मको विशेष प्रदर्शनपछि सञ्चारकर्मीहरूसँग बोल्दै उपस्थित कलाकर्मीहरूले ‘पहाड’ ले दर्शकलाई मनोरञ्जनका साथै भावुक बनाउने धारणा राखेका छन् । वरिष्ठ फिल्मकर्मी निर शाह भन्छन्, “निर्देशक घिमिरेले समसामयिक विषयलाई आफ्नै मौलिक शैलीमा पस्किएका छन् । यस फिल्मले विशुद्ध नेपालीपनलाई उजागर गर्दै दर्शकलाई पहाडको यथार्थसँग साक्षात्कार गराउँछ ।” यस्तै अभिनेता भुवन केसीले “कुसुमे रुमालजस्ता चलचित्रका निर्देशक घिमिरेको यो अर्को उत्कृष्ट काम हो। सपरिवार हेर्न मिल्ने यो एक ‘कम्प्लिट प्याकेज’ बनेको छ।” भनेका छन् ।

यता अभिनेता जितु नेपालले पनि “फिल्मले निकै भावुक बनायो । विशेषगरी नव–अभिनेत्री पञ्चमी घिमिरेको डेब्यु अभिनय अत्यन्तै तारिफयोग्य छ।” भने । यसका साथै दीपाश्री निरौला, दीपक आचार्य, दिवाकर भट्टराई, रमेश उप्रेती र किरण केसी लगायतका कलाकर्मीले नेपालको वास्तविक धरातल पर्दामा उतार्न सफल भएको भन्दै निर्माण टोलीलाई बधाई ज्ञापन गरेका थिए ।

प्रिमियरमा प्राप्त उत्साहजनक प्रतिक्रियापछि निर्देशक तथा लेखक तुलसी घिमिरे निकै प्रफुल्लित देखिए । “सुन्दर पहाडहरू जनशक्ति अभावमा कसरी रित्तो र उजाड बन्दै गइरहेका छन् भन्ने यो समग्र देशकै यथार्थ चित्रण हो,” घिमिरेले भने, “पहिलो दर्शकका रूपमा उपस्थित कलाकर्मीको मायाले मेरो लामो मेहनतको फल मिलेको महसुस गरेको छु ।” यसै फिल्ममार्फत डेब्यु गरेकी निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले पर्दा अगाडि आफूलाई देख्दा भावुक अनुभूति भएको प्रतिक्रिया दिइन् ।
@parikalanewsofficial
त्यस्तै, यो फिल्मका अभिनेता अरुण क्षेत्रीले बाल्यकालदेखि आदर्श मान्दै आएका निर्देशक घिमिरेसँग काम गर्न पाउनु आफ्नो ठूलो सौभाग्य रहेको बताए । लामो समयपछि नेपाली फिल्मका हस्तीहरू यस फिल्ममार्फत एउटै पर्दामा देखिँदैछन् । निर्देशक घिमिरेले ‘बलिदान’का मदनकृष्ण श्रेष्ठ तथा ‘चिनो’का शिव श्रेष्ठ र सुनिल थापालाई फेरि एउटै प्रोजेक्टमा जोडेका छन् ।

फिल्ममा विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, रेनुनाथ योगी, उमा गिरी र पञ्चमी घिमिरेजस्ता स्थापित तथा नवकलाकारहरूको बलियो उपस्थिति रहेको छ । भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको पहाडको प्रस्तुतकर्ता उत्तम रसाइली हुन् भने निर्मातामा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी रहेका छन् । यस्तै क्रिएटिभ निर्माता भारती घिमिरे हुन् भने प्रोडक्सन डिजाइनर भावना घिमिरे, सङ्गीत रञ्जित गजमेर, छायाङ्कन प्रमोद प्रधान, सम्पादन शङ्कर कोइराला र भारती घिमिरेको रहेको छ ।














Discussion about this post