इटहरी/ नेपाली फिल्म जगतका चर्चित निर्देशक तुलसी घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले फिल्म‘पहाड’ मार्फत अभिनेत्रीको रूपमा डेब्यु गर्ने भएकी छन् । आफ्नै बुवाको निर्देशनमा बन्न लागेको यस फिल्मबाट उनले लामो समयको पर्दापछाडिको अनुभवलाई अब क्यामेराको अगाडि प्रस्तुत गर्न लागेकी हुन् । पञ्चमीका लागि फिल्म क्षेत्र नौलो भने होइन ।
९ वर्षअघि बुवाकै फिल्म ‘दर्पण छायाँ २’ मा सहायक निर्देशकको रूपमा काम गरेकी उनले त्यसपछि भारतको मुम्बईलाई कर्मथलो बनाइन् । मुम्बईमा उनले चर्चित सिरियल ‘कुमकुम भाग्य’ र विभिन्न विज्ञापनहरूमा ‘क्रिएटिभ डिरेक्टर’का रूपमा काम गरिसकेकी छन् । बाल्यकालमै ‘साइत’ फिल्ममा बालकलाकारको अनुभव बटुलेकी उनी प्राविधिक कामसँगै सानैदेखिको अभिनयको रहर पूरा गर्न पर्दामा आउन लागेकी हुन् ।

‘पहाड’ तुलसी घिमिरेको ड्रिम प्रोजेक्ट हो, जसले पहाडी भेगको बसाइँसराइ र रित्तिँदै गएका बस्तीहरूको कथा बोल्छ । यस फिल्ममा पञ्चमीले मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, र विपिन कार्की जस्ता दिग्गज कलाकारहरूसँग स्क्रिन सेयर गर्नेछिन् । फिल्ममा उनको जोडी अभिनेता अरुण क्षेत्रीसँग बाँधिएको छ ।
@parikalanewsofficial
फिल्मी परिवारमा जन्मिनुलाई ठूलो आशीर्वाद मान्ने पञ्चमी अभिनय क्षेत्रमा टिकिरहन भने आफ्नै क्षमता र मेहेनत नै आवश्यक पर्ने बताउँछिन् । “बुवाको नामले अवसरको ढोकासम्म पुर्याए पनि त्यहाँ टिकिरहन मेरो आफ्नै क्षमता चाहिन्छ,” उनी भन्छिन् । बुवाको विरासत जोगाउने ठूलो चुनौती रहेको बताउँदै उनले दर्शकको मन जित्न आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
















Discussion about this post