इटहरी/ नेपाली फिल्म क्षेत्रका दुई लोकप्रिय अभिनेता दयाहाङ राई र सौगात मल्ल जब पर्दामा सँगै आउँछन्, दर्शकको उत्साह स्वतः दोब्बर हुन्छ । तर, यसपटक यी दुई स्टार मित्रताको उदाहरण बनेर होइन, बरु एउटै युवतीको प्रेममा परेर एक-आपसमा हानाहान गर्ने अवस्थामा सम्म पुगेको देखिएको छ । यस्तै रमाइलो र कौतूहलपूर्ण कथाको छनक दिँदै आगामी जेठ ८ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को टिजर सार्वजनिक भएको छ ।
आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज गरिएको २ मिनेट लामो यो टिजरले यतिबेला सामाजिक सञ्जालमा राम्रो चर्चा बटुल्न सुरु गरेको छ । टिजरमा ग्रामीण परिवेशलाई निकै सुन्दर ढंगले प्रस्तुत गरिएको छ । दयाहाङ र सौगात दुवैजना गाडी चलाएर जीविकोपार्जन गर्ने ड्राइभरको भूमिकामा छन् । उनीहरूबीच एउटै केटीलाई लिएर हुने हानथाप र दुश्मनी टिजरको मुख्य आकर्षण हो । हेर्नुस् टिजरमा ।
उनीहरूको यो निरन्तरको झगडाबाट वाक्क भएका गाउँलेले एउटा रोचक जुक्ति निकाल्छन्- यी दुईलाई ‘मित’ लगाइदिने । मित लगाएपछि एकअर्काबाट टाढा रहनुपर्ने मान्यताले उनीहरूको दुश्मनी रोक्ने गाउँलेको प्रयासलाई टिजरमा कमेडी शैलीमा देखाइएको छ । साथै, टिजरमा समावेश एउटा दृश्यमा दया र सौगात ज्योतिषकहाँ पुगेको देखिन्छ । जहाँ ज्योतिषले ‘परस्त्रीसँगको सम्बन्धका कारण भविष्यमा ठूलो समस्या आउन सक्ने’ चेतावनी दिएपछि उनीहरूको अनुहारमा छाएको डर र तनावले दर्शकलाई मज्जाले हँसाउँछ ।
यस फिल्मले केवल हँसाउने मात्र नभई नेपाली समाजबाट विस्तारै लोप हुँदै गएको ‘मितेरी साइनो’ लाई आफ्नो कथाको मुख्य जग बनाएको छ । निर्माण पक्षले यो पुरानो र आत्मीय सामाजिक सम्बन्धको महत्वलाई नयाँ पुस्तासम्म पुर्याउने कलात्मक प्रयास गरेको छ । यसै मौलिक कथावस्तु बोकेको फिल्मबाट भारतीय टेलिभिजनका रियालिटी शोहरू जितेर चर्चामा आएकी डान्सर तेरिया फौजा मगरले नेपाली रजतपटमा अभिनेत्रीका रूपमा आफ्नो डेब्यु गर्दैछिन् ।
@parikalanewsofficial
अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्ममा उत्कृष्ट प्राविधिक र कलाकारहरूको जमघट रहेको छ । फिल्मको मुख्य कलाकारको रुपमा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, शिशिर वाङ्देल, खड्गबहादुर पुन (खबपु), पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा लगायत छन् । जिएम मूभिज प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्मको निर्माता जनक घर्ती मगर हुन् भने फिल्मलाई अनिल बुढा मगरले निर्देशन गरेका छन् ।
यस्तै मुख्य सहायक निर्देशन फिरोज खड्का, छायांकन शिशिर बिशंखे, सम्पादन लोकेश बज्राचार्य रहेको फिल्मको संगीत श्रीकृष्ण बम मल्लले दिएका छन् भने स्वर मेलिना राई र लक्ष्मी मल्लको रहेको छ । गाउँले परिवेश, बलियो स्टारकास्ट, उत्कृष्ट कमेडी र मौलिक कथावस्तुको सम्मिश्रण रहेको ‘मितज्यू’ ले बक्स अफिसमा दर्शकको मन जित्नेमा निर्माण पक्ष निकै विश्वस्त रहेका छन् ।














Discussion about this post