इटहरी/ ‘चुरा लिया है तुमने जो दिलको’ भन्दै करोडौँ श्रोताको मुटुमा बस्न सफल भारतीय संगीतकी जादुमयी स्वरकी धनी गायिका आशा भोसले अब यो दुनियाँमा रहिनन् । पुस्तान्तरणलाई समेत आफ्ना गीतमा नचाउन र झुमाउन सफल ९२ वर्षीया दिग्गज गायिका भोसलेको निधन भएको छ । मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालका चिकित्सकहरूले आइतबार उनको निधनको औपचारिक पुष्टि गरेसँगै विश्वभर छरिएका संगीतप्रेमीहरू स्तब्ध बनेका छन् ।
शनिबार अचानक ‘कार्डियक अरेस्ट’ भएपछि उनलाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । दशकौँसम्म भारतीय संगीत उद्योगमा एकछत्र राज गरेकी आशा अन्ततः मृत्युसँगको लडाइँमा भने पराजित भइन् । उनको सांगीतिक सफलता जति चम्किलो छ, सुरुवात भने त्यति नै संघर्षपूर्ण थियो । ८ सेप्टेम्बर १९३३ मा महाराष्ट्रमा जन्मिएकी आशाले ९ वर्षको कलिलो उमेरमै पिता दीनानाथ मंगेशकरलाई गुमाइन् ।
बुबाको निधनपछि परिवारको आर्थिक बोझ थेग्न उनले सानै उमेरमा आफ्नी दिदी लता मंगेशकरसँगै गायन र अभिनयको कठिन बाटो रोज्नुपरेको थियो । सन् १९४३ मा एउटा मराठी फिल्मबाट पार्श्व गायनको यात्रा सुरु गरेकी आशाले सन् १९४८ को फिल्म ‘चुनरिया’बाट हिन्दी फिल्ममा पाइला राखेकी थिइन् । त्यसपछिको उनको सफलताको कथा इतिहासमै स्वर्णाक्षरले लेखिएको छ ।
@parikalanewsofficial
गजल, भजन, शास्त्रीय संगीतदेखि लिएर ‘दम मारो दम’ र ‘पिया तू अब तो आजा’ जस्ता पप शैलीका गीतहरूमा समेत उनले आफ्नो बहुमुखी प्रतिभाको जादु छरिन् । संगीतमा कुनै पनि विधा वा शैलीलाई सहजै गाउन सक्ने उनको नाममा विश्वकै सबैभन्दा ठूलो सांगीतिक कीर्तिमान समेत दर्ज छ ।
आफ्नो जीवनकालमा २० भन्दा बढी स्वदेशी र विदेशी भाषाहरूमा १२ हजारभन्दा धेरै गीत रेकर्ड गराएबापत सन् २०११ मा ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड्स’ ले उनलाई संगीत इतिहासमै विश्वकै सर्वाधिक स्टुडियो रेकर्डिङ गर्ने कलाकारको सम्मान दिएको थियो । भौतिक शरीरले बिदा लिए पनि, उनले पस्किएका हजारौँ कालजयी सिर्जनाहरूले आशा भोसलेलाई सांगीतिक आकाशमा सधैँ ध्रुवतारा जस्तै चम्किलो र अमर बनाएर राख्नेछन् ।














Discussion about this post