इटहरी/ बहुप्रतिक्षित नेपाली फिल्म ‘१२ गाउँ’को रियाक्सन भिडियोहरू यतिबेला युट्युब ट्रेन्डिङमा छाएका छन् । यो फिल्मलाई बिराज भट्टले निर्देशन गरेका हुन् भने उनका छोरा समीर भट्टले यस फिल्मबाट नेपाली फिल्म उधोगमा डेब्यु गर्दैछन् । युट्युब ट्रेन्डिङ हेर्ने हो भने हालसम्म १२ गाउँको चारवटा रियाक्सन भिडियोहरू युट्युबको मुभी क्याटोगरिको ट्रेन्डिङमा प्रवेश भएका छन् । मुभी क्याटोगरिको पहिलो स्थानमा ‘१२ गाउँ’को अफिसियल ट्रेलरले कब्जा जमाएको छ भने दोस्रो स्थानमा ‘छक्का पन्जा ५’ को ट्रेलर रहेको छ ।
छक्का पन्जा ५ को ट्रेलर सार्वजनिक भएको २४ घण्टा नपुग्दै नै ट्रेन्डिङको दोस्रो स्थानमा पुगेको हो । यस्तै तेस्रो स्थानमा प्रदर्शनरत फिल्म ‘खुस्मा’ को ट्रेलर छ । यता ‘१२ गाउँ’को रियाक्सन भिडियोहरूको कुरा गर्दा, ‘रियाक्सन वाई सुलेमान’ नामक युट्युब च्यानलमा राखिएको ८ मिनेट २ सेकेन्ड लामो रियाक्सन भिडियो युट्युबको मुभी ट्रेन्डिङको १० औं स्थानमा रहेको छ । यसमा पाकिस्तानी जोडीले १२ गाउँको ट्रेलर हेर्दै फिल्मप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।
त्यस्तै, मुभी क्याटोगरीकै १६ औं स्थानमा रहेको अर्को रियाक्सन भिडियो ‘ब्रोसिस’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । जसमा एक भारतीय जोडिले ६ मिनेट ६ सेकेन्ड लामो रियाक्सन भिडियो बनाएका छन् । यता १८ औं स्थानमा ‘एम ब्रोस इन्डिया’ नामक युट्युब च्यानलबाट दुई भारतीय युवाले ६ मिनेट २३ सेकेन्डको रियाक्सन भिडियो बनाएका छन् भने २० औं स्थानमा रहेको ‘लालुङबा मिडिया’ नामक नेपाली युट्युब च्यानलले जय किशन बस्नेतको प्रतिक्रिया समेटेर ३० मिनेट ९ सेकेन्ड लामो रियाक्सन भिडियो सार्वजनिक गरेको छ । त्यसैगरी मुभी ट्रेन्डिङको २४ औं स्थानमा ‘डब्ल्युसिएफ रिभ्यु’ नामक नेपाली युट्युब च्यानलमा ४ मिनेटको रिभ्यु सार्वजनिक गरिएको छ ।
नेपाली फिल्मको रियाक्सन भिडियो यति धेरै बनेको र एकसाथ यतिधेरै भिडियो ट्रेन्डिङमा प्रवेश गरेको नेपाली फिल्म क्षेत्रको लागी यो पहिलो हो । यी सबै रियाक्सन भिडियोहरूमा ‘१२ गाउँ’को बारेमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ, विशेषगरी समिर भट्टको लुक्स र एक्सनलाई प्रशंसा गरिएको छ । ट्रेन्डिङमा नपरेका तर युट्युबमा उपलब्ध अन्य दर्जनौं रियाक्सन भिडियोहरू पनि ‘१२ गाउँ’ को प्रसंशामा बनेका छन् । यता युट्युबको मुख्य ट्रेन्डिङमा १२ गाउँ फिल्मको ट्रेलर ११ औं स्थानमा पुगेको छ भने ‘छक्का पन्जा ५’ को ब्रेकअप गीत २२ औं स्थानमा रहेको छ ।
यस वर्षको दशैँमा तीनवटा नेपाली फिल्महरूको महाभिडन्त हुँदैछ । यी हुन् ‘१२ गाउँ’, ‘छक्का पन्जा ५’, र ‘ज्वाइँ साब’। सामाजिक संजालमा फिल्मप्रति दर्शकको प्रतिक्रिया विभाजित देखिए पनि ‘१२ गाउँ’ले बाजी मार्ने सम्भावना बलियो छ । चौथो श्रृङखलासम्म सफल व्यापार गरेको फिल्म ‘छक्का पन्जा’को पाचौं श्रृङखला प्रती भने धेरै सामाजिक संजाल प्रयोगकर्ताहरु रुष्ट देखिन्छन् । तथापि, सामाजिक संजालमा प्रतिक्रिया दिने दर्शक र सिनेमा हलमा जाने दर्शकको दृष्टिकोणमा भिन्नता हुने हुँदा वास्तविक परिणाम भने फिल्म हलमा रिलिज भएपछि मात्र थाहा हुनेछ ।
Discussion about this post