इटहरी/ लोकप्रिय गायिका रचना रिमालले हालै नेपालमा आएको बाढी र पहिरोले निम्त्याएको भयानक विपत्तिमा सहयोगको हात अघि बढाएकी छिन् । अमेरिकाको सांगीतिक भ्रमणबाट स्वदेश फर्कनेबित्तिकै उनले ५० हजार रुपैयाँ नगद 100S Grupa मार्फत राहत स्वरूप हस्तान्तरण गरेकी हुन् । सो ग्रुप अहिले उद्धार र राहत वितरणमा अहोरात्र खटिरहेको सामाजिक संस्था हो । जसले यस विपत्तिमा परेका पीडितहरूको उद्दार र राहतका लागि निरन्तर काम गरिरहेका छन् ।
गायिका रचना झन्डै २ महिनाअघि अमेरिकामा विभिन्न शहरहरूमा आयोजना भएका सांगीतिक कार्यक्रमहरूमा सहभागी हुन गएकी थिइन् । झन्डै दुई महिनाको यस भ्रमणमा उनले अमेरिकाका दर्जनभन्दा बढी ठूला सहरहरूमा आफ्नो सांगीतिक कला प्रस्तुत गरेकी थिइन् । उनको यो यात्रा सफलतापूर्वक सम्पन्न भएलगत्तै स्वदेश फर्किएकी रिमालले समाजप्रतिको जिम्मेवारी निभाउने उद्देश्यले यो सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।
सहयोग हस्तान्तरण गरेपछि उनले आफ्नो आधिकारिक फेसबुकमा ‘हुन त एउटा हातले गरेको सहयोग अर्को हातले थाहा नपाउन भन्ने छ, तर यो विपतको समयमा उद्धार र राहत वितरणमा खटिरहेको 100s Group मार्फत थोरै सहयोग गरेकी छु । आशा छ, यसले केही हदसम्म भए पनि राहत दिनेछ।’ भन्दै पोस्ट गरेकी छन् । रिमालको यो परोपकारी कदम सामाजिक सञ्जालमा सार्वजनिक पश्चात् उनका प्रशंसकहरूले यस्तो कार्यको खुलेर प्रशंसा गर्दै उनलाई शुभकामना दिएका छन् ।
Discussion about this post