इटहरी/ अभिनेता विपिन कार्कीको दोहोरो चरित्र रहेको नेपाली फिल्म ‘तेल भिसा’को अग्रिम अनलाइन टिकट बुकिङ खुल्ला भएको छ । यो फिल्ममा अभिनेता कार्की २ फरक भुमिका वृद्ध र जवानको चरित्रमा देखिन लग्गेका हुन् । मंसिर ७ गते अर्थात भोली शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको यस फिल्मलाई शंकर घिमिरेले निर्देशन गरेका हुन् । उनले १२ वर्षपछि निर्देशनमा पुनरागमन गर्न लागेका हुन् ।
शो बिभाजनमा यो फिल्मलाई क्युएफएक्सले उपत्यकामा २५ र मोफसलमा २५ शो उपलब्ध गराउँदै अग्रणी स्थान लिएको छ । त्यस्तै, आइएनआई सिनेमाजले ९, वान सिनेमाजले ७, एफक्युबले ६, बिग मूभिजले ४, बिएसआर मूभिजले ३, रञ्जना सिनेप्लेक्सले ५, सिके सिनेमाजले ३, सिने डी सेफले ४ र कीर्तिपुर सिनेप्लेक्सले १ शो दिएका छन् । यता कोशी प्रदेशका क्विएफएक्स बाहेकका प्रमुख सिनेमा हलहरुले शुक्रवार जम्मा १० शो दिएको छ । यहाँको ३ ओटा क्विएफएक्सले शुक्रवार जम्मा ७ शो दिएको छ ।
देशभर करिब डेढ सय शो पाएको यस फिल्मले पहिलो दिनमै १ करोडभन्दा बढी कमाइ गर्ने अपेक्षा गरिएको छ । अग्रिम बुकिङ राम्रो भएकाले दर्शकको अकुपेन्सी उच्च हुने देखिएको छ । फिल्मले सकारात्मक समीक्षासँगै वर्ड अफ माउथ पाएमा थप शो पाउने वितरक र हल सञ्चालकहरूको योजना छ ।
विपिन कार्कीको प्रमुख भूमिकासँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती, र केही विदेशी कलाकारहरूको अभिनय फिल्ममा छ । वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको यस फिल्मको प्रस्तुतकर्ता ऋचा घिमिरे हुन् । अनिल पाण्डे र शिवराज कार्कीले लगानी गरेको यस फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, र अजय खड्काको सम्पादन रहेको छ ।
Discussion about this post