इटहरी/ देशभरका चलचित्र पत्रकारहरूको साझा छाता संगठन ‘चलचित्र पत्रकार संघ नेपाल’ ले आगामी ३ वर्षे कार्यकालका लागि पुरानै नेतृत्वलाई विश्वासको मत दिएको छ । शनिबार काठमाण्डौमा सम्पन्न २७औं वार्षिक साधारण सभा तथा १०औं महाधिवेशनबाट समीर बलामी भारी मतका साथ दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
कुल १४० मत खसेको निर्वाचनमा बलामीले आफ्ना प्रतिस्पर्धी जीवन कुमार पराजुलीलाई पछि पार्दै पदाधिकारीतर्फकै सर्वाधिक ९५ मत प्राप्त गरी नेतृत्वमा आफ्नो निरन्तरता कायम राखे । यस महाधिवेशनले मतदान र निर्विरोध दुवै प्रक्रियाबाट नयाँ अनुहारसहितको कार्यसमिति चयन गरेको छ ।
सबैभन्दा बढी प्रतिस्पर्धा देखिएको महासचिव पदमा ४ जना उम्मेदवारलाई उछिन्दै गोपिकृष्ण चापागाईं ५४ मतका साथ विजयी बनेका छन् । त्यस्तै, खुल्लातर्फको सचिव पदमा मदन रिजालले चुनावमै दोस्रो सर्वाधिक ९४ मत प्राप्त गर्दै सानदार जित निकाले । यस्तै संगठन उपाध्यक्ष संगठन तर्फ रघुनाथ सापकोटा ७३ मतसहित निर्वाचित भएका छन् भने महिला उपाध्यक्ष पदमा दीपज्योति थापाले ७५ मतसहित विजयी हासिल गरिन् ।
@parikalanewsofficial
रोचक कुरा, उनी ६ वर्षअघि पनि ठिक यही पदमा निर्वाचित भएकी थिइन् । संघको कार्यक्रम उपाध्यक्ष तर्फ कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् भने सचिव (समावेशी) तर्फ महम्मद जालिम निर्विरोध निर्वाचित भए । कोषाध्यक्ष पदमा मनिष अन्जान दाहाल ७४ मतसहित विजयी र सह-कोषाध्यक्ष पदमा अर्जुन गुरागाईं ६२ मतसहित विजयी भएका छन् ।
यस महाधिवेशनबाट कार्यसमितिका ८ जना सदस्यहरू भने निर्विरोध चुनिन सफल भएका छन् । निर्विरोध चयन भएका सदस्यहरूमा सोजना लोहार, सुशील नेपाल, दिनेश थापा, नविन चापागाईं, रतनबहादुर चन्द, युवर्ण पौडेल, दीपराज क्षेत्री र सालिकराम न्यौपाने रहेका छन् । संघको विधानले २ जना सदस्यलाई मनोनीत गर्न पाउने विशेष व्यवस्था गरेको छ । यसअघि नै धुव्रराज न्यौपानेलाई मनोनीत गरिसकिएको हुनाले, अब नयाँ कार्यसमितिले थप एक जनालाई सदस्यका रूपमा मनोनीत गर्ने जनाइएको छ ।















Discussion about this post