इटहरी/ नेपाली टेलिभिजन पर्दामा करिब ८ वर्षदेखि एकछत्र राज गरिरहेको लोकप्रिय जोडी कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ ले नयाँ वर्ष २०८३ को सुखद अवसर पारेर आफ्नो ‘ड्रिम प्रोजेक्ट’ घोषणा गरेका छन् । दर्शकलाई हसाउँदै आएको यो जोडीले फिल्म ‘चिरञ्जीवी भवः’ निर्माण गर्ने भएका हुन् ।
यो बहुप्रतिक्षित फिल्मको मुख्य आकर्षण भने सामाजिक सञ्जाल र मोडलिङ क्षेत्रमा लोभलाग्दो क्रेज बनाएकी चर्चित इन्फ्लुएन्सर प्रशंसा रायमाझी बनेकी छन् । यसै फिल्ममार्फत प्रशंसाले अभिनेत्रीका रूपमा नेपाली फिल्म क्षेत्रमा आफ्नो फिल्मी यात्रा सुरु गर्दैछिन् ।

२०८२ सालमा बक्स अफिस तताएका दुई सफल कलाकारहरुको यो सहकार्यलाई फिल्म वृत्तमा निकै चासोका साथ हेरिएको छ । दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बन्ने यस फिल्मको मूल कथा कुमार कट्टेल (जिग्री) ले बुनेका हुन् । पटकथा तथा संवाद लेखनमा भने सविन अधिकारी र बसन्त न्यौपानेले कट्टेललाई सघाएका छन् ।
@parikalanewsofficial
यसअघि दीपक निर्देशित फिल्म ‘परान’ ले २०८२ सालकै सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड राखेको थियो । त्यस्तै, कुमारको अभिनय र निर्देशन रहेको फिल्म ‘लाज शरणम्’ ले पनि बक्स अफिसमा सानदार व्यापार गरेको थियो । यी दुई हिट-मेकर एकै ठाउँमा उभिँदा दर्शकले नयाँ र उत्कृष्ट स्वाद पाउने अपेक्षा गरिएको छ ।
हास्य विधामा जमेको यो जोडीले फिल्म ‘चिरञ्जीवी भवः’ लाई भने विशुद्ध सामाजिक ड्रामा जनरामा निर्माण गर्दैछ । लेखक कट्टेलका अनुसार फिल्मको कथा अहिलेकै समयको यथार्थमा आधारित छ । यस फिल्मले विशेषगरी समसामयिक समाजमा प्रस्ट देखिने दुई पुस्ताबीचको वैचारिक द्वन्द्व र पारिवारिक सम्बन्धका उतारचढावलाई पर्दामा उतार्नेछ ।
हाल फिल्मको स्क्रिप्टको अन्तिम ड्राफ्टलाई माझ्ने काम धमाधम भइरहेको निर्माण पक्षले जनाएको छ । सम्पूर्ण तयारी पूरा गरेर आगामी डेढदेखि दुई महिनाभित्रै छायांकन सुरु गर्ने टिमको योजना छ । मोडलिङ र सोसल मिडियाबाट लाखौँ युवा दर्शकको मन जितिसकेकी प्रशंसाको उपस्थितिले फिल्मप्रति युवापुस्ताको आकर्षण झनै बढाउने निश्चित छ ।















Discussion about this post