इटहरी/ नेपाली फिल्म क्षेत्रमा ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल पारिवारिक तथा हास्य फिल्म पस्कँदै आएको फिल्म निर्माण कम्पनी ‘षट्कोण आर्ट्स’ यसपटक एउटा गम्भीर र मार्मिक कथा लिएर दर्शकमाझ आउने तयारीको अन्तिम चरणमा छ । बादी समुदायको कथा उठान गरिएको फिल्म ‘लालीबजार’को भर्खरै सार्वजनिक ट्रेलरले यतिबेला सबैको ध्यान तानिरहेको छ । यही वैशाख ४ गते रिलिज भएको यस फिल्मको ट्रेलर छोटो समयमै दर्शकको उल्लेख्य माया बटुल्दै युट्युब मुभी चार्टको दोश्रो नम्बरमा उक्लिएको छ ।
ट्रेलरमा बादी समुदायमा चलेको ‘नाथिया’ जस्तो कु-प्रथालाई मुख्य विषयवस्तु बनाइएको छ । आफ्नी छोरीलाई उक्त प्रथाबाट जोगाउन एउटी आमाले गर्ने सङ्घर्षलाई भिडिओमा निकै सशक्त रूपमा प्रस्तुत गरिएको छ । विशेषगरी, बादी महिलाको भूमिकामा देखिएकी अभिनेत्री स्वस्तिमा खड्काको जीवन्त अभिनय र हुलियाले अहिले सामाजिक सञ्जालमा सर्वत्र प्रशंसा पाइरहेको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको यस फिल्ममा पुराना र नयाँ पुस्ताका कलाकारको उत्कृष्ट तालमेल देख्न सकिन्छ । हेर्नुस् ट्रेलर ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ र बालकलाकार समाइरा थापाको प्रमुख भूमिकामा अभिनय रहेको छ भने थिएटरमा सक्रिय अभिनेता तथा निर्देशक विशाल देवकोटा र जेनजी पुस्तामाझ चर्चित अनुहार प्रशंसा सुवेदीले यसै फिल्मबाट डेब्यु गर्दैछन् । मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा लगायतको पनि अभिनय रहेको छ । फिल्म प्रदर्शन हुनुअगावै यसका दुई गीतहरू ‘मायालाई के दिउँ म बैना’ र ‘मिठो संसार’ दर्शकको जनजिब्रोमा झुण्डिसकेका छन् भने यी गीतहरू टिकटक, इन्स्टाग्राम रील्स र युट्युब शर्ट्समा भाइरल भइरहेका छन् ।
‘रज्जा रानी’ र ‘हुर्रे’ जस्ता विषयप्रधान फिल्मका निर्देशक यम थापाले यस फिल्मको कथा तथा निर्देशनको जिम्मा सम्हालेका हुन् । रोचक कुरा के छ भने, कथाको पटकथा लगभग फाइनल भएपछि छायांकन स्थल भ्रमणका क्रममा कार्यकारी निर्माता तथा निर्देशक प्रदीप भट्टराईले नै फिल्मको नाम ‘लालीबजार’ राख्ने प्रस्ताव गरेका थिए, जसमा सम्पूर्ण टिम सहमत भएको थियो । यही वैशाख १८ गते प्रदर्शनमा आउने यस फिल्मको पटकथा यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार पारेका हुन् ।
@parikalanewsofficial
फिल्मको निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ हुन् भने कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् । सुशन प्रजापतिले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन् । सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व, समिर श्रेष्ठ र सत्यम रानाको भिएफएक्स रहेको छ । सामाजिक सञ्जालदेखि सेलिब्रेटीसम्मले ट्रेलरको विषयवस्तु र प्रस्तुतिको तारिफ गरिरहँदा ‘लालीबजार’ ले नेपाली फिल्म क्षेत्रमा अर्को माइलस्टोन खडा गर्ने अपेक्षा गरिएको छ ।
















Discussion about this post