इटहरी/ ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता ब्लकबस्टर फिल्म दिएर दर्शकको मन जितेको निर्माण कम्पनी षट्कोण आर्ट्स अब नयाँ फिल्म ‘लालीबजार’ मार्फत दर्शकमाझ आउने भएको छ । आगामी वि.सं. २०८३ साल वैशाख १८ गतेलाई प्रदर्शन मिति तय गरिएको यस फिल्ममा यसपटक एउटा रोचक परिवर्तन देख्न पाइनेछ । षट्कोण आर्ट्सका अघिल्ला सबै फिल्म निर्देशन गरेका प्रदीप भट्टराई यसपटक निर्देशकको भूमिकामा छैनन्, बरु उनले यो जिम्मेवारी सफल निर्देशक यम थापालाई सुम्पेका छन् ।
षट्कोण आर्ट्स तराईको परिवेशमा एउटा उत्कृष्ट फिल्म निर्माण गर्ने सोचमा थियो । यही क्रममा निर्माता रवीन्द्रसिंह बानियाँ र यम थापाबीच भेट भयो । ‘रज्जा रानी’, ‘हुर्रे’ र ‘मेरी मामु’ जस्ता फिल्म निर्देशन गरिसकेका थापाले उक्त भेटमा आफूसँग भएको ‘आमा’ विषयको एउटा कथा सुनाए । कथाले षट्कोण आर्ट्सको टिमलाई यति तान्यो कि उनीहरूले तत्कालै यसमा लगानी गर्ने निर्णय गरे ।
यम थापाले कथा दिए पनि निर्देशन आफैँ गर्छु भन्ने सोचेका थिएनन् । षट्कोण आर्ट्सको लिगेसी हेरेर उनले प्रदीप भट्टराईले नै यो फिल्म निर्देशन गर्ने अनुमान गरेका थिए । तर, फिल्मलाई अझ उत्कृष्ट बनाउन भट्टराई र निर्माण टिमले नै थापालाई निर्देशनको प्रस्ताव राखेपछि ‘लालीबजार’को औपचारिक यात्रा सुरु भएको थियो । पछि छायांकन स्थल हेर्न जाने क्रममा प्रदीप भट्टराईले नै फिल्मको नाम ‘लालीबजार’ राख्न प्रस्ताव गरेका थिए, जसमा सम्पूर्ण टिम सहमत भयो ।
@parikalanewsofficial
निर्देशक थापाका अनुसार ‘लालीबजार’ले समाजको एउटा यथार्थपरक पाटोलाई पर्दामा उतार्नेछ । यो विशेष गरी एउटा निश्चित समुदायकी आमा र छोरीको मार्मिक कथामा आधारित छ, जसले दर्शकलाई सामाजिक विषयमा गहिरिएर सोच्न बाध्य बनाउनेछ ।
फिल्म प्रदर्शनमा आउन अझै केही समय भए पनि यसका गीतहरूले भने अहिलेदेखि नै चर्चा बटुल्न थालिसकेका छन् । फिल्मका सार्वजनिक दुई गीतहरू ‘मायालाई के दिउँ म बैना’ र ‘मिठो संसार’ यतिबेला युट्युब, टिकटक, इन्स्टाग्राम रील्स र सर्ट्समा भाइरल भइरहेका छन् । बर्दियाको राजापुरमा छायांकन गरिएको यस फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता रवीन्द्रसिंह बानियाँको मुख्य भूमिका रहनेछ ।
यसै फिल्ममार्फत थिएटरका अनुभवी अभिनेता तथा निर्देशक विशाल देवकोटा र जेनजी पुस्तामा लोकप्रिय कन्टेन्ट क्रिएटर तथा अभिनेत्री प्रशंसा सुवेदीले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन् । फिल्ममा समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी र विरवल चौधरी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
यम थापाको कथा तथा निर्देशन रहेको यस फिल्मको पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन् । यसको कार्यकारी निर्माता प्रदीप भट्टराई तथा निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ हुन् भने क्रिएटिभ निर्देशक जेबी रुवाली, छायांकन निर्देशक सुशन प्रजापती, द्वन्द्व निर्देशन सम्राट बस्नेत, सम्पादन मित्रदेव गुरुङ, संगीत प्रकाश सपुत, खेम सेन्चुरी र जयन जे वाइवा रहेका छन् । बलियो कथा, सफल निर्माण कम्पनी र उत्कृष्ट प्राविधिक टिमको संगम रहेको ‘लालीबजार’ २०८३ सालको बहुप्रतिक्षित फिल्म बन्नेमा निर्माण युनिट ढुक्क छन् ।
















Discussion about this post