इटहरी/ प्रतिक्षित मानिएको फिल्म ‘बलिदान’को दोस्रो सेड्युलको छायांकन आजदेखि मोरङको रङ्गेलीबाट सुरु भएको छ । दशैँ बिदासँगै पहिलो सेड्युल सम्पन्न गरेको फिल्म युनिटले पुनः आज मङ्सिर ७ गतेबाट छायांकन सुरु गरेको निर्देशक सन्तोष सेनले परिकला न्युजलाई जानकारी गराए । निर्देशक सेनका अनुसार फिल्मको दोस्रो चरणको छायांकन मोरङको रङ्गेलीबाट सुरु भई कानेपोखरी र विराटनगरमा समेत हुनेछ । यी स्थानहरूमा महत्त्वपूर्ण दृश्यहरू खिच्न भव्य सेट निर्माण गरिएको छ ।
पहिलो सेड्युलमा इटहरीको बीएमसी स्टुडियोमा भव्य सेट तयार गरी इनडोर सेट गरिएको थियो । त्यहाँ अभिनेता समीर भट्ट र सौगात मल्लको एक्सन अवतार समेटिएको क्लाइमेक्स सिनसहितका महत्त्वपूर्ण दृश्य खिचिएका थिए । छायांकनका क्रममा निर्माण टिमले प्राविधिक समस्याहरूको सामना गर्नुपरेको थियो । निर्देशक सेनका अनुसार प्रोडक्सन म्यानेजरको घातका कारण केही चुनौती सिर्जना भए पनि समस्या समाधान गरी दोस्रो सेड्युल सुरु गरिएको हो ।
फिल्मको छायांकन यसपटक ‘१२ गाउँ’ का छायांकार महेश पौडेलले गर्दैछन् । यसअघि पुरुषोत्तम प्रधान र सञ्जय लामाले फिल्मको छायांकन गरेका थिए । प्राविधिक टिममा भएका फेरबदलका बाबजुद पनि ‘बलिदान’को मिसनलाई पूरा गर्न टिम सक्रिय रहेको निर्देशक सेनले बताए । आसुसेन फिल्म्स प्रा.लि. को ब्यानरमा निर्माण भइरहेको यो फिल्मका निर्माता पवन ब्राडफोर्ड बिष्ट र सह-निर्माता प्रेम पुरी हुन् । फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा र दिव्य देवललगायतका कलाकारहरुको मुख्य भूमिकामा अभिनय रहेको छ । फिल्मको प्रदर्शन मिति हालसम्म तय गरिएको छैन ।
Discussion about this post