इटहरी/ नेपाल चलचित्रकर्मी संघ, कोशी प्रदेशको आयोजनामा सञ्चालित ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव’ अन्तर्गत यतिबेला ‘अभिनय कार्यशाला’ जारी छ । यस कार्यशालामा प्रशिक्षकको रूपमा मनिष राउतले प्रशिक्षण प्रदान गरिरहेका छन् । ओस्कार कलेजबाट फिल्म निर्माणमा स्नातक पूरा गरेका र हाल एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रूपमा कार्यरत मनिषले सहभागीहरुलाई अभिनयका विविध पाटाहरूमा ज्ञान प्रदान गरिरहेका छन् ।
अभिनयमा रुचि राख्ने झापाका ३० जनाले यो कार्यशालामा बडि ल्याङ्ग्वेज, भ्वाइस एण्ड स्पिच, क्यामेरा फ्रेमिङ, डाइलोग डेलिभरी जस्ता विषयहरूमा प्रशिक्षक राउतबाट प्रशिक्षण प्राप्त गरिरहेका छन् । कार्यशाला मंसिर १ गतेबाट सुरु भएको हो भने ७ गते (भोली) मनिषको अन्तिम दिन रहेको छ । त्यस पश्चात् निर्देशक सुदर्शन थापाले सहभागीलाई थप प्रशिक्षण प्रदान गर्ने आयोजक संस्थाका अध्यक्ष केवल तामाङले जानकारी दिएका छन् ।
यस्तै महोत्सवको अर्काे आकर्षणका रुपमा रहेको चलचित्र प्रदर्शनी पनि नियमित रूपमा सञ्चालन भइरहेको छ । अहिलेसम्म ३ गते ‘नालापानी,’ ४ गते ‘वानरसेना,’ ५ गते ‘माङेन्ना’ प्रदर्शन भइसकेका छन् भने आज (मंसिर ६ गते) दिउँसो २ बजे निर्देशक भीम लामाद्वारा निर्देशित फिल्म ‘लिलामे माईला’ प्रदर्शन गरिनेछ । यसैगरी, ७ गते ‘बिहे पास,’ ८ गते ‘चारदाम,’ र ९ गते ‘कृष्ण लिला’ प्रदर्शन गरिने अध्यक्ष तामाङले जानकारी गराएका छन् । यी फिल्महरु महोत्सव स्थलमै खुल्ला रुपमा नि:शुल्क प्रदर्शन गराईरहेको छ । कोशी प्रदेशमा निर्माण भएका फिल्महरुलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ खुल्ला रुपमा प्रदर्शन गरेर नयाँ शैलीको सुरुवात गरेको अध्यक्ष तामाङले बताए ।
यता महोत्सव अन्तर्गत मङ्सिर ९ गते कोशी प्रदेश र सिक्किम राज्यको मैत्रीपुर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन ‘सिक्किम सास्कृतिक साँझ’ को आयोजना हुने भएको छ । यो कार्यक्रम साँझ ५:३० देखी सुरु हुनेछ । जसमा सिक्किमका २ दर्जन बढी चलचित्रकर्मी तथा कलाकारहरूको आकर्षक प्रस्तुती रहने छ । सो कार्यक्रममा सिक्किमबाट नायक उत्तम प्रधान, सिक्किम राज्यको सास्कृतिक बिभागका प्रमुखहरुको पनि उपस्थिति रहने आयोजक संस्था नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष सुबास मेचेले जानकारी गराए ।
यसैगरी महोत्सवको सांस्कृतिक पक्ष पनि आकर्षक रहेको छ । हरेक रात चर्चित कलाकारहरूले आफ्ना गीत-संगीतमार्फत झापालीलाई मनोरञ्जन प्रदान गरिरहेका छन् । सांस्कृतिक कार्यक्रम तथा मेला नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिको व्यवस्थापनमा सञ्चालन भइरहेको छ । मेलामा बाल उद्धानदेखी रोटेपिङ, विभिन्न खानाका परिकार लगायतका स्टलहरु राखिएका छन् । महोत्सवले पर्यटन प्रवर्द्धनसँगै चलचित्र र सांस्कृतिक गतिविधिहरूको माध्यमबाट बिर्तामोड तथा समग्र कोशी प्रदेश स्थानीय बासिन्दालाई उत्साहित गरिरहेको छ ।
Discussion about this post