इटहरी/ कोशी प्रदेशको इटहरीमा पहिलो पटक आयोजना गरिएको ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव २०२४’ भव्यताका साथ सम्पन्न भएको छ । इटहरीस्थित इलाईट सिनेमा हलमा कार्तिक ३० गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन भएको महोत्सवलाई नेपालस्थित युरोपियन युनियनको कार्यालयले आयोजना गरेको हो । महोत्सवको स्थानिय संयोजन भ्याली एफएक्सले गरेको थियो ।
महोत्सवको कार्तिक ३० गते उद्घाटन समारोहमा आमन्त्रित कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठ, सुनसरी जिल्लाका सिडिओ रामचन्द्र तिवारी, वरिष्ठ अभिनेता प्रेम सुब्बा, संगीत साधनाका महासचिव राजु केसी, ‘पूर्ण बहादुरको सारङ्गी’का प्रमुख अभिनेता विजय बराल, चलचित्रकर्मी परशुराम चौधरी, निर्माता तथा निर्देशक लाखमान योन्जन, नेपाल चलचित्रकर्मी महासंघ अध्यक्ष अरुण कुमार प्रधान, प्रेमगीत सिरिज निर्माता सन्तोष सेन, १२ गाउँ फिल्मका लेखक तथा कलाकार सन्तोष सरकार, कलाकार भिम लामा, दिनेश कोइराला, गायक प्रकाश ओझा, यश कुमार, प्रकाश सुब्बा, रंगकर्मी विक्रम श्री लगायत व्यवसायी तथा राजनितीज्ञहरुको बाक्लो उपस्थिति रहेको थियो । यस्तै युरोपियन युनियनको नेपाल स्थित कार्यालयका प्रेस अधिकृत अम्बर मैनालीको पनि विषेश उपस्थिति रहेको थियो ।

पहिलो दिनमा आमन्त्रित अतिथिहरुका लागी नेपाली सर्ट फिल्म ‘सनै’ र बुल्गेरियन फिल्म ‘झिँगुली ब्याण्ड’ प्रदर्शन गरिएको थियो । यस्तै दोस्रो दिन ‘पूर्वी नेपालमा नेपाली चलचित्र निर्माणका चुनौती र अवसरहरू’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । कार्यक्रममा निर्देशक तथा लेखक मनोज पण्डित, लेखक / कलाकार तथा सञ्चारकर्मी संगीता श्रेष्ठ र निर्देशक अरुण कुमार प्रधानले आफ्ना विचार राखेका थिए । अन्तरक्रिया कार्यक्रमको सहजकर्ताको भूमिकामा मनोज दाहाल रहेका थिए ।
त्यसैगरी, दोस्रो दिन नेपाली सर्ट फिल्म ‘फेरा’, ‘रातो पछयौरी’, र ‘लेट्स टक पिरियड’का साथमा युरोपियन फिल्महरू ‘लोला’, ‘ला पिरोग’ र ‘ल्याम्ब’ प्रदर्शन गरियो । महोत्सवको तेस्रो दिन नेपाली सर्ट फिल्म ‘मखमली उडान’, ‘काठमाडौ मनसुन’ र ‘आखत’सँगै युरोपेली फिल्म ‘द स्ट्रेन्ज केस अफ ज्याकी केईयु’, ‘स्कुल गर्ल्स’ र ‘मिस भिबोर्ग’ देखाइएको थियो । मङ्सिर ३ गते अर्थात महोत्सवको अन्तिम दिन नेपाली सर्ट फिल्म ‘हावामेन’, ‘द बुल, द काउ र द काफ’ र युरोपियन फिल्महरू ‘ले पेटिट निकोलस’ तथा ‘द नकेड ट्रुथ अबाउट झिँगुली ब्याण्ड’ प्रदर्शन गरियो ।

चलचित्र महोत्सवमा इटहरीका विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरूको समेत उल्लेखनीय उपस्थिति देखियो । स्कुल तथा कलेजका विद्यार्थीहरुका लागी शिक्षा र चेतनास्तरमा वृद्धि गर्ने फिल्महरु भएका कारण उनिहरुलाई सहभागी गराईएको स्थानिय आयोजकको भनाई छ । सहभागी शैक्षिक संस्थाहरूमा इटहरीको डिभिएम स्कुल, सरस्वती मा.वि., हाम्रो इङ्लिस बोर्डिङ स्कुल, ग्रीनपिस एकेडेमी, इटहरी नमुना कलेज, कस्तुरी एकेडेमी, मकालु इङ्लिस बोर्डिङ स्कुल, गोक्यो इन्टरनेसनल बोर्डिङ स्कुल, फुजिसान सगरमाथा बोर्डिङ स्कुल, नर्थ पोइन्ट इङ्लिस बोर्डिङ स्कुल, युनिभर्सल सेकेन्डरी बोर्डिङ स्कुल, बाल आदर्श बोर्डिङ स्कुल, शिक्षादीप एकेडेमी र शान्तीनगर बोर्डिङ स्कुलका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

महोत्सवका स्थानिय संयोजक भ्याली एफएक्सका कपिल पराजुलीले महोत्सव अपेक्षाभन्दा बढी सफल भएको प्रतिक्रिया दिए । उनका अनुसार युरोपियन चलचित्रको शैली नेपाली, हिन्दी र अंग्रेजी चलचित्र हेर्ने दर्शकका लागि फरक भए पनि दर्शकहरूको उत्साहजनक उपस्थिति महोत्सवको ठूलो सफलता हो । उनले यो महोत्सवलाई कोशी प्रदेशवासीहरूको ऐतिहासिक सहभागिताको रुपमा लिएका छन् भने आगामी दिनमा पनि यस्ता महोत्सवलाई पुनः कोशी प्रदेशमा आयोजना गरिने जानकारी दिए । महोत्सवको व्यवस्थापकका रुपमा चन्दा दाहाल रहेकी थिइन् भने सुवास संकल्प श्रेष्ठ र बिकल रेग्मीले सहयोगीको भूमिका निर्वाह गरेका थिए ।














Discussion about this post