इटहरी/ फिल्म ‘रंगी’को स्क्रिप्ट पूजा गर्दै निर्माण कार्य औपचारिक रूपमा बिहीबारबाट शुरू गरिएको छ । सलोन सलिना फिल्म्स् प्रालिको ब्यानरमा निर्माणाधीन यस फिल्मको प्रस्तुतकर्ता नायक सलोन बस्नेत हुन् । घटस्थापनाको अवसर पारेर राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पूजाको आयोजना गरिएको थियो ।
फिल्मको निर्देशन सुरेश न्यौपानेले गर्दैछन्, जसले यस फिल्मबाट आफ्नो निर्देशन यात्राको सुरुवात गर्दैछन् । यसअघि उनले म यस्तो गीत गाउछु २, कृ, यात्रा, छक्का पन्जा, र ए मेरो हजुर २ जस्ता सफल फिल्ममा मुख्य सहायक निर्देशकको रूपमा काम गरिसकेका छन् ।
फिल्म ‘रंगी’मा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आरुषी कार्की, विशाल पहारी र सुमिन गुरुङको अभिनय रहनेछ । आगामी कातिक ५ गतेदेखि फिल्मको छायांकन शुरू हुने योजना रहेको छ । फिल्मले बाबु र छोरीको सम्बन्धमा आधारित कथा प्रस्तुत गर्नेछ । सक्षम सुवेदीको निर्माणमा तयार हुँदै गरेको यस फिल्ममा सुमन गजमेरको लेखन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी र सौरभ लामाको छायांकन रहनेछ ।
Discussion about this post