इटहरी/ तीज नजिकिँदैछ, यसपाली सार्वजनिक भएका तीज लक्षित गीतहरु छाडापनले भरीएर आलोचनाको सिकार बन्नु परिरहेको अवस्था छ । यस्तै अवस्थामा नेपाली संगीतको नयाँ परिदृश्यमा ‘मासिनो खाउँला सुकीलो लाउँला’ बोलको मौलिक तीज गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीत मौलिक मात्रै छैन, सन्देसमुलक संगै जनचेतना फैल्याउने शैलीको समेत रहेको छ । यो गीत तथा भिडियो शनिबार इटहरीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।
सुनसरीको इटहरी अवस्थित पाथिभरा स्कुलको सभाहलमा भएको भिडियो बिमोचन कार्यक्रममा मोरङ जिल्लाका सिडिओ प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि भट्टराईले भिडियो प्ले गरेर बिमोचन गरिएको थियो । सार्वजनिक गीतमा ऋचा काफ्लेले आवाज दिएका छन् । जसका शब्दकार गणेश खड्का हुन् भने संगीतको जिम्मा दुर्गा पराजुलीले सम्हालेका छन् । हेर्नुस् भिडियो ।
गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ राजु कार्कीले गरेका छन् । कोरसमा दुर्गा पराजुली, यमुना पराजुली, भूमिका अधिकारी र आयुष बिष्टले सहभागिता जनाएका छन् । यो गीत भवना डिजिटल रेकर्डिङ स्टुडियो र स्टुडियो किंग काठमाडौंमा रेकर्ड गरिएको हो । गीतका रेकर्डिस्ट हेम सुब्बा रहेका छन् ।
म्युजिक भिडियामा कलाकार सरिता दाहाल र प्रज्वल काफ्लेले अभिनय गरेका छन् । भिडियोको निर्देशन दुर्गा पराजुलीले गरेका हुन् भने भिडियोको कोरियोग्राफी लक्ष्मी समलले गरेका छन् । भिडियोलाई शिर कुमार साम्पाङ र दिनेश राई (सुबिन) ले छायांकन गरेका छन् । श्रिङ्गारको कार्य एन्जल ब्यूटी पार्लरले गरेको हो भने भिडियो सम्पादन र रंग संयोजन भिडियोका छायांकार साम्पाङले नै गरेका हुन् । सार्वजनिक गीतले तीजको मौलिकतालाई उजागर गर्दै सबैको मनमनमा बस्ने विश्वास गीतकी गायिका काफ्लेले गरेकि छन् ।
Discussion about this post