इटहरी/ गएको ४ वर्षअघि सार्वजनिक भएर लोकप्रिय भएको गीत ‘चिसो चिसो छ मौसम’ को दोश्रो भाग सार्वजनिक गरिएको छ । आज मंगलबार धरानमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ‘यो मौसम बैमानी’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको हो । धरानमा अवस्थित फ्रेन्ड्स सिनेमामा आयोजना गरिएको म्युजिक भिडियो प्रिमियर कार्यक्रममा लोकप्रिय गायक दिपक लिम्बुको प्रमुख आतिथ्यता रहेको थियो । लिम्बुवान आइडलबाट उदाएका गायक कंचन थलङ राईले यसअघि सार्वजनिक गरेको गीत ‘चिसो चिसो छ मौसम’लाई युट्युबमा राम्रो भ्युज प्राप्त भएको छ ।
सो गीतले राम्रो भ्युजसंगै लोकप्रियता कमाएपछी यस्लाई दोश्रो भागको रुपमा पनि ल्याउनुपर्छ भन्ने सोचेर ‘यो मौसम बैमानी’को परिकल्पना भएको गायक राईले बताए । यो गीतमा गायक राई नै फिचर्ड छन् भने उनलाई अभिनयमा पछिल्लो समय फिल्म तथा म्युजिक भिडियोमा राम्रो चर्चा बटुल्दै गएकी रेखा लिम्बुले साथ दिएकी छन् । धरान स्थायी घर भएकी रेखाले यो म्युजिक भिडियोमा आफुहरुले सक्दो मेहनत गरेको र अब यस्लाई दर्शकहरुको जिम्मामा छोडेको बताउदै सबैलाई यो भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छन् । हेर्नुस् उक्त भिडियो ।
सार्वजनिक ‘यो मौसम बेइमानी’ गीतमा कंचनको स्वरसंगै शब्द र सङ्गीत पनि उनैको रहेको छ । यस्तै यो गीतलाई सन्जिव सुब्बाले एरेन्ज गरेका छन् भने शान थापाले यो गीतको भिडियोलाई निर्देशन गरेका छन् । डिप्रेसनको सिकार भएकी प्रेमिकालाई शान्त र एकान्त ठाउँमा लगेर भुलाउन र डिप्रेसनबाट मुक्त बनाउन एक प्रेमीले गरेको क्रियाकलापलाई आकर्षक ढङ्गले भिडियोमा प्रस्तुत गरिएको छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन गरेका हुन् ।
यो भिडियोलाई गायक कंचन थलङ लिम्बुको जन्मदिनको अवसर पारेर उनकै नाममा खोलिएको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ भने प्रिमियर कार्यक्रममा केक काटेर उनको जन्मदिन मनाईएको थियो । प्रिमियर कार्यक्रममा गितकार मिना सिङ्गक, नायक तथा कलाकार कुशल थलङ, मोडल बादल श्रेष्ठ, संगीतकार बिनोद प्रियदर्शी राई, समाजसेवी खगेन्द्र पन्धाक लगायत दर्जनौंको उपस्थिति रहेको थियो । म्युजिक भिडियो प्रिमियर कार्यक्रमबाट गायक थलङले आफुले साङितिक क्षेत्रबाट कमाएको रकमबाट १० हजार रुपैयाँ जाजरकोट र रुकुमका भुकम्प पिडितहरुलाई सहयोग स्वरुप हस्तान्तरण गर्ने पनि जानकारी गराएका छन् ।
Discussion about this post