इटहरी/मिस ग्राण्ड नेपाल २०२३ कि बिजेता सलीना नेपाल यहि नोभेम्बर १० अर्थात शुक्रबारदेखी कम्बोडियामा आयोजना हुने सौन्दर्य प्रतियोगिता ‘मिस प्लानेट इन्टरनेसनल’मा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै जाने भएकी छन् । नेपाल सहित विश्वका ४० बढी देशहरुले सहभागीता जनाउने उक्त प्रतियोगितामा नेपालको खेतीपाती र पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन र प्रचार गर्ने उद्देश्य सहित सलिना सहभागी हुने तयारीमा छिन् ।
आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा भएको मिस ग्रान्ड नेपालको विजेता बनेसंगै सलिनाले ‘मिस प्लानेट इन्टरनेसनल २०२४’ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गरेकी हुन् । मण्डनदेउपुर नगरपालिका १० मा स्थायी घर भएकी उनी हाल ललितपुर बस्दै आइरहेकी छन् । २३ वर्षीय सलिना यतिबेला प्याजेन्टको मानसिक दबाब छल्न योग, कसरत र ध्यान कक्षा सिकिरहेकी छन् ।
पाँच फिट चार इन्च उचाईं भएकी सलिना उक्त प्याजेन्टमा सहभागी हुन यहि कार्तिक २९ गते कम्बोडिया प्रस्थान गर्ने भएकी छन् । सलिना आफूलाई आत्मविश्वास, मित्रवत् र इमान्दार भएको बताउँछिन् । प्रतियोगितामा सहभागि हुनु पूर्व सलिनाले अन्तर्राष्ट्रिय प्रतियोगिताबारे अभिमूखिकीरण र प्रशिक्षण संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यबाट प्राप्त गरेकी छिन् । मिस प्लानेट इन्टरनेसनल २०२४ को अन्तिम प्रतिस्पर्धा १९ नोभेम्बर अर्थात् आउँदो मंसीर ३ गते कम्बोडियाको नोम पेन स्थितको पिक थिएटरमा सम्पन्न हुनेछ ।
Discussion about this post