इटहरी/ फिल्म ‘रंगी’को गीत ‘छ नि माया’ हालै काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड गरिएको छ । यो गीतमा आनन्द कार्की र सुजता केसीको स्वर रहेको छ भने शब्द, संगीत र एरेन्ज गायक दुर्गेश थापाले गरेका छन् । विमल छिनलले मिक्सिङ र मास्टरिङको काम यो गीतमा गरेका छन् ।
सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा निर्माण तयारी रहेको ‘रंगी’मा अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता छन् । फिल्ममा पूर्व मिस नेपाल नम्रता श्रेष्ठलाई मुख्य भूमिकामा अनुबन्धित गरिएको छ । यस फिल्ममार्फत सुरेश न्यौपानेले निर्देशनमा डेब्यू गर्दैछन् । न्यौपानेमा लोकप्रिय आधा दर्जन नेपाली फिल्ममा सहायक निर्देशन गरेको अनुभव छ ।
केही दिनअघि फिल्मको टाइटल पोस्टर पनि सार्वजनिक गरिएको छ । जसमा साइकलमा बालिका र उनलाई खेलाउँदै गरेका एक पुरुषलाई देख्न सकिन्छ । पोस्टरले फिल्म बाबु र छोरीको सम्बन्धको कथा चित्रण गर्ने अनुमान गर्न सकिन्छ । फिल्ममा सुमन गजमेरको लेखन रहेको छ भने सौरभ लामाले छायांकन गर्नेछन् । फिल्ममा सक्षम सुवेदीको निर्माण रहनेछ ।
Discussion about this post