इटहरी/ पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा एक करोड भ्यूज पार गरेको खुसियाली मनाइरहेको फिल्म ‘लालीबजार’ निर्माण पक्षले दर्शकमाझ दोस्रो सांगीतिक कोसेली पस्किएको छ । निर्माण टिमले फिल्मका मार्मिक दृश्यहरूलाई समावेश गर्दै ‘मिठो संसार’ बोलको नयाँ गीत सार्वजनिक गरेको हो । जयन जे वाइवाको शब्द तथा सङ्गीत रहेको यस गीतमा चर्चित गायिका समीक्षा अधिकारीसहित दिलिजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको सुमधुर स्वर सुन्न सकिन्छ ।
त्यसैगरी, कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरले साथ दिएका छन् । सार्वजनिक भिडियोमा फिल्मका प्रमुख कलाकारहरू स्वस्तिमा खड्का, नव-नायिका प्रशंसा सुवेदी र बालकलाकार समाइरा थापा फिचर्ड छन् । षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको यस फिल्मका लेखक तथा निर्देशक यम थापाका अनुसार यो दोस्रो गीतले फिल्मको मूल कथालाई नजिकबाट जोड्छ । “यस गीतमा आमा र छोरीबीचको गहिरो प्रेमलाई देखाइएको छ,” निर्देशक थापाले प्रस्ट्याए, “छोरीप्रतिको आमाको अगाध माया र उनलाई हुर्काउन एक आमाले गर्ने सङ्घर्षलाई गीतका दृश्यहरूले चित्रण गरेका छन् ।” हेर्नुस् भिडियो ।
यसअघि सार्वजनिक भएको पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएसँगै निर्माण पक्ष हौसिएको छ । हालै मात्र निर्माण टिमले केक काटेर उक्त सफलताको खुसियाली समेत साटेको थियो । पहिलो गीतको अपार क्रेजकै बीच दर्शकको मागलाई ध्यानमा राख्दै यो दोस्रो गीत रिलिज गरिएको हो । बर्दियाको राजापुरमा छायांकन गरिएको ‘लालीबजार’मा स्वस्तिमा खड्का र रवीन्द्रसिंह बानियाँको साथमा बालकलाकार समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डेको अभिनय रहेको छ ।
@parikalanewsofficial
यस्तै फिल्ममा आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी र कुन्टललगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । यसै फिल्मबाट दुई नयाँ अनुहारले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन् । थिएटरमा अभिनेता तथा निर्देशकको रूपमा सक्रिय विशाल देवकोटा र ‘जेनजी’ अभियन्ताका रूपमा परिचित प्रशंसा सुवेदीले यही फिल्ममार्फत आफ्नो फिल्मी यात्राको थालनी गर्न लागेका हुन् । प्रदीप भट्टराई कार्यकारी निर्माता रहेको यस फिल्ममा म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माताको रूपमा रहेका छन् । बहुप्रतिक्षित बनेको यो फिल्म आगामी वर्षको वैशाख १८ गतेबाट देशभरका फिल्म हलहरूमा प्रदर्शनमा आउँदैछ ।














Discussion about this post