धरान/ धरान उप-महानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क साम्पाङ्ग’ले आफ्नो प्रयासमा श्रमसंस्कृतिको प्रवर्द्धन गरी देश-विदेशबाट वाहवाही पाएसंगै ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ लण्डनले समेत कदर गरेको छ । मेयर हर्क साम्पाङ्गले यही श्रमसंस्कृतिको प्रवर्द्धन गर्दै ९८ दिनमा करीब ४२ किलोमिटर पाइप तानेर कोकाहा खोलाको पानी धरानसम्म ल्याउन सफल भएकोमा ‘वर्ल्ड बुक अफ रेकर्ड्स-लण्डन’ले उक्त कार्यको मान्यता सहित कदर गर्दै सम्मान गरेको छ । यता सामाजिक संजालमा भने उनले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’मा नाम लेखाए भन्दै धेरैले पोस्ट तथा बधाई दिइरहेका छन् । तर यो ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ र ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ फरक हो ।
‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ प्रचलनमा रहेको विश्व कीर्तिमानको विश्वव्यापी संग्रह हो । वर्ल्ड बुक अफ रेकर्ड्सले एतिहासिक सम्पदाहरु तथा साँस्कृतिक, सामाजिक, आर्थिक एवम सांगीतिक लगायतका क्षेत्रमा उल्लेख्य योग्दान पुर्याउने व्यक्ती तथा संस्थालाई सुचिकृत तथा सम्मनित गर्दै आएको छ । यसअघि नेपालि अभिनेत्री ऋचा शर्मा, वरिष्ठ कलाकार भुवन चन्द, अभिनेत्री करिश्मा मानन्धर, मोडल श्रेया कार्कीलाई समेत संगीत तथा फिल्म उधोगमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको थियो । शुक्रबार धरान उप-महानगरपालिकाको सभाकक्षमा आयोजित एक समारोहमा ‘वर्ल्ड बुक अफ रेकर्ड्स-लण्डन’ ले साम्पाङ्गलाई कदर पत्र हस्तान्तरण गरेको हो ।
‘वर्ल्ड बुक अफ रेकर्ड्स-लण्डन’ का नेपाल प्रमुख सागर कटुवाल, नेपाल मानब धर्म सेवा समितिका प्रमुख महात्मा चमेली बाईजी, गायक निर्णय श्रेष्ठ, सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले संयुक्त रुपमा उक्त कदर पत्र साम्पाङ्गलाई हस्तान्तरण गरेका थिए । ‘वर्ल्ड बुक अफ रेकर्ड्स-लण्डन’को कदरपत्र पाएपछि प्रफुल्लित हुदै मेयर हर्क साम्पाङ्गले आफुले सम्मानका लागि नभएर कामको लागि काम गरेको तर यसरी मुल्यांकन हुँदा अझै काम गर्ने जोश थपिने बताउदै आफ्नो कार्यकालमा पानीको समस्या सुल्झाउन लागिपर्ने र १ करोड बिरुवा रोप्ने समेत बताए । ‘वर्ल्ड बुक अफ रेकर्ड्स-लण्डन’का नेपाल प्रमुख सागर कटुवालले मेयर साम्पाङ्गको कार्यहरु नियालिरहेको र वहाँको प्रेरणादायी श्रमसंस्कृतिले धेरै नै प्रभाव पारेको बताए ।
Discussion about this post