इटहरी/ समकालीन नेपाली गजल क्षेत्रमा नयाँ सुगन्ध थप्दै गजलकार आरजु गिरीको दिक्पाल छन्दमा रचित गजल ‘सम्झेर प्यार’ सार्वजनिक भएको छ । ‘नेपाली गजलबहार’ युट्युब च्यानलमार्फत भिडियोसहित दर्शकश्रोतामाझ आएको यस गजलमा गायिका तथा संगीतकार बबिना भट्टराई र गायक राज सिग्देलको सुमधुर स्वर सुन्न सकिन्छ । भिडियोमा पनि यी दुवै स्रष्टा फिचर्ड छन् ।
छन्दमणि, कविवर गोविन्दराज विनोदीप्रति समर्पित यस गजलको संगीत संयोजन किरण कँडेलले गरेका हुन् । म्युजिक नेपालमा नकुल कार्कीद्वारा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ प्रकाश खरेलले गरेका छन् । सरोज बुढाथोकीको शृङ्गार रहेको भिडियोको निर्देशन केशव राज भट्टले गरेका हुन् भने सम्पादन र कलर करेक्सन मीन रावलको रहेको छ । हेर्नुस् भिडियो ।

@parikalanewsofficial
गजलले प्रेम, प्रतीक्षा, एक्लोपन र पूर्ण समर्पणको गहिरो दार्शनिक पाटोलाई समेटेको छ । गजलका शेरहरूले अतीतको सुखद स्मृतिले जीवनलाई दिने सार्थकता, साथ नहुँदाको अनन्त एक्लोपन र समयमै प्रेमको महत्व बुझ्नुपर्ने सन्देश बोकेका छन् । विशेषगरी अन्तिम शेरमा प्रयोग भएको ‘सुम्पेर जिन्दगी यो तिम्रै हुनेछु रानी’ले प्रेममा पूर्ण आत्मसमर्पण र पवित्रताको उच्चतम विन्दुलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।
@parikalanewsofficial
इमेज एफ.एम. ९७.९ को कार्यक्रम ‘मेची देखि महाकाली सम्म’ मा समीक्षा गर्दै गजलकार उत्तम विचारले यसलाई दिक्पाल छन्दको एक उत्कृष्ट गजल भनेका छन् । उनले छन्दको अनुशासनभित्र रहेर लेखिएका सशक्त शेरहरूले प्रेमको त्याग र समर्पणलाई सफल बनाएको बताए । यसैगरी, कविवर गोविन्दराज विनोदीले पनि गजलको शब्द, स्वर र संगीतको भाव उत्कृष्ट संयोजन भएको भन्दै प्रशंसा गरेका छन् । समग्रमा, लयात्मक अनुशासन र आधुनिक प्रेमका मनोवैज्ञानिक आयामहरूलाई सशक्त रूपमा प्रस्तुत गरिएको यस गजलले दर्शक र श्रोतालाई गहिरो भावानुभूतिको यात्रा गराउन सफल भएको छ ।

















Discussion about this post