इटहरी/ अभिनेत्री नीता ढुंगाना अब निर्देशकीय अवतारमा दर्शकमाझ आउँदैछिन् । उनको डेब्यु निर्देशन रहेको प्रतिक्षित फिल्म ‘पार्वती’को सम्पूर्ण छायांकन निर्धारित समयभन्दा ८ दिन अगावै सकिएको छ । गत चैत २४ गते कास्कीको मिर्सा गाउँबाट ३० दिनको सेड्युलसहित सुरु भएको यो फिल्मको सुटिङ तीव्र गतिमा काम भएसँगै जम्मा २२ दिनमै सम्पन्न भएको हो । बुधबार पोखरामा अन्तिम दृश्य खिचेर फिल्मको ‘प्याकअप’ गरिएको निर्देशक ढुंगानाले जानकारी दिइन् ।
यस फिल्ममा नीता स्वयं मुख्य पात्र ‘पार्वती’को भूमिकामा देखिनेछिन्, जो ‘अटिजम’बाट प्रभावित छिन् र आफ्नै छुट्टै दुनियाँमा जिउँछिन् । नीताकै कथा तथा पटकथा रहेको यस फिल्मले हास्य, भावना र सामाजिक सन्देशको त्रिवेणी प्रस्तुत गर्नेछ । निर्देशक ढुंगानाका अनुसार, यो फिल्मले एक साधारण अटिजम प्रभावित युवतीको दृष्टिकोणबाट जीवनका विभिन्न रंग, सम्बन्धको मिठास र मानवीय संघर्षलाई निकै मनछुने ढंगले पर्दामा उतार्ने प्रयास गरेको छ ।

नीताका श्रीमान् एवं चर्चित ज्योतिष हरिहर अधिकारीद्वारा निर्मित यस फिल्ममा नीताका साथै दीपाश्री निरौला, बालगायक अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा र आशा पौडेल लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ । फिल्मको संवाद लेखन शिवम् अधिकारीले गरेका हुन् । त्यसैगरी, प्राविधिक पक्षमा पनि निकै बलियो टिम खटिएको छ ।

@parikalanewsofficial
फिल्ममा सुदिप बरालको डिओपी र साहिल खानको सम्पादन रहनेछ । चर्चित डान्सिङ ग्रुप ‘कार्टुन क्रु’का सरोज अधिकारीले यस फिल्ममा क्रियटिभ निर्देशकको भूमिका निर्वाह गरेका छन् भने प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माताको जिम्मेवारी शंकर पाण्डेले सम्हालेका छन् । छायांकन सकिएसँगै अब फिल्म पोस्ट-प्रोडक्सनको चरणमा प्रवेश गरेको छ । निर्माण पक्षका अनुसार ‘पार्वती’लाई आगामी भदौ १२ गते अर्थात् जनै पूर्णिमाको विशेष अवसर पारेर देशभरका फिल्म हलहरुमा प्रदर्शन गरिने तयारी छ ।
















Discussion about this post