इटहरी/ ‘कक्षामा प्रथम नभए छात्रवृत्ति पाइँदैन, अनि छात्रवृत्ति नपाए पढ्ने सपना त्यहीँ सकिन्छ ।’ हाम्रो समाजको यही तीतो यथार्थ र त्यसले बालबालिकाको मस्तिष्कमा पार्ने गहिरो असरलाई पर्दामा उतार्दैछ नयाँ फिल्म ‘रोल नं १’ ले । ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलको यस नयाँ फिल्मको मर्मस्पर्शी टिजर आज युट्युबमार्फत सार्वजनिक भएको छ ।
सार्वजनिक टिजरले एउटा गरिब बाबुले आफ्नो गाँस काटेर छोराको उज्ज्वल भविष्यका लागि देखेको सपना र त्यो सपना भत्किँदा छाउने निराशालाई निकै कलात्मक ढङ्गले प्रस्तुत गरेको छ । पढ्नका लागि सरकारी छात्रवृत्तिकै भर पर्नुपर्ने आम नेपाली परिवारको बाध्यता र ‘प्रथम अर्थात् रोल नम्बर १ हुनैपर्ने’ कडा नियमले विपन्न विद्यार्थीलाई कसरी शिक्षाबाट वञ्चित गरिरहेको छ भन्ने कुरा टिजरमा छर्लङ्ग देखिन्छ । हेर्नुस् टिजर ।

समाजमा इज्जत जोगाउनकै लागि भए पनि पढाइमा अब्बल हुनैपर्ने दबाबले बालबालिकालाई कसरी पिल्साइरहेको छ भन्ने गम्भीर प्रश्न फिल्मले उठाएको छ । अभिभावकको असीमित आकांक्षाको भारी बोकेको बच्चाले जति नै प्रयास गर्दा पनि पढ्न नसक्दा उसको कलिलो मनोविज्ञानमा कस्तो असर पर्छ भन्ने वास्तविकतालाई टिजरले उजागर गरेको छ ।

महेश दवाडीको लेखन रहेको यस फिल्मको छायांकन प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिमाली जिल्ला म्याग्दीका रमणीय ग्रामीण भेगहरूमा गरिएको छ । निर्माता पौडेलका अनुसार, यो फिल्म आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ ।
@parikalanewsofficial
नेपालभर फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले गर्नेछन् । यो फिल्मलाई निर्देशन जोन योञ्जनले गरेका हुन् भने निर्माताको रुपमा विनोदसँगै जान्वी पौडेल रहेका छन् । सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन् । यो फिल्मको मुख्य कलाकारमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी छन् भने बाल कलाकार निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन् । यसको छायांकनमा शिव राम श्रेष्ठ, सम्पादनमा मदन घिमिरे र संगीतमा प्रशान्त शिवाकोटी रहेका छन् ।

















Discussion about this post