इटहरी/ परम्परागत प्रेमकथा र सामाजिक विषयवस्तुमा सीमित प्राय: नेपाली फिल्म उद्योग अब सर्वनाशपछिको भविष्य र पौराणिक कथाको अद्भुत दुनियाँमा प्रवेश गरेको छ । सुवर्ण पौडेलको लेखन तथा निर्देशनमा निर्माण भएको साइ-फाई पौराणिक ड्रामा ‘मोक्ष’को अफिसियल ट्रेलर सार्वजनिक भएसँगै दर्शकहरूमाझ ठूलो कौतूहलता छाएको छ । फिल्मले मानव जाति लोप हुने संघारमा पुगेको एउटा कहालीलाग्दो भविष्यको परिकल्पना गरेको छ । कथाको केन्द्रमा ‘मेघनाथ’ द्वारा सृजना गरिएको अमर पात्र ‘कर्ण’ रहेको छ ।
मानव जातिको भाग्य र भविष्य जोगाउन सक्ने एक मात्र अस्त्र ‘स्यामन्तक मणि’को खोजी गर्ने कठिन जिम्मेवारी कर्णको काँधमा छ । आफ्नो सृष्टिकर्ताको आदेश पालन गर्दै उ उजाड र भग्नावशेषमा परिणत भएका सहरहरू पार गर्दै अघि बढ्छ । तर, यस चुनौतीपूर्ण यात्राका क्रममा कर्णले देख्ने विनाशकारी दृश्यहरूले उसलाई आफ्नो कर्तव्य, त्याग र मुक्तिको वास्तविक अर्थ के हो भनेर आफैंलाई प्रश्न गर्न बाध्य बनाउँछ । हेर्नुस् ट्रेलर ।

@parikalanewsofficial
पौराणिक नाम र पात्रहरूलाई भविष्यको परिप्रेक्ष्यमा उतार्न नवोदित तथा अनुभवी कलाकारहरूको सशक्त टोली तयार गरिएको छ । फिल्मको मुख्य भूमिकामा सौरभ पौडेल ‘कर्ण’ र सागर उपमन्यु ढकाल ‘मेघनाथ’ छन् । यस्तै अन्य महत्त्वपूर्ण पात्रहरूमा संजु के.सी. ‘आन्या’, शिखा उप्रेती ‘पृथ्वी माता’, पवन थापा ‘विभीषण’ र पुजन लाल भडेल ‘ट्राइब जनरल’ रहेका छन् । कलाकारहरूमा पल्वाशा थापा ‘आन्या’, उपेन्द्र अर्याल ‘असासीन’, सोनिया के.सी. ‘होलोग्राम भ्वाइस’का साथै राजीव त्वायना ‘म्यान १’ र सुवास चन्द ‘म्यान २’ रहेका छन् ।
यस फिल्मलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन भिएफएक्स र सिजिआईमा विशेष ध्यान दिइएको निर्माण पक्षले जनाएको छ । फिल्मको लेखन, निर्देशन, निर्माण सुवर्ण पौडेलले गरेका हुन् भने यसको निर्मातामा गौरव कडेल रहेका छन् । छायांकन तथा सम्पादन अभियान कला मगर रहेका छन् भने सम्पादनमा सुवर्ण पौडेलले पनि सघाएका छन् । यस्तै सिजिआई अशिम शाक्य, पार्श्व संगीत टाइलर डग्लस रान्डल र रोबिन वाग्ले, साउन्ड डिजाइन राजन सुवेदी र सुवास चन्दले गरेका छन् ।
@parikalanewsofficial
फिल्मको क्यामेरामा अरुण भुषाल र तथा सह-लेखनमा विराज पराजुली छन् । यसका अलावा फिल्मको व्यवस्थापन तथा अन्य प्राविधिक पक्षमा बिकीशाह सिंह, बिनिशा दाहाल, सबिन सापकोटा मियाँ, रमेश कडेल, सुजाता पौडेल, बिबेक सापकोटा, र रेजिना सुवेदीको महत्त्वपूर्ण योगदान रहेको छ । नेपाली फिल्मको प्राविधिक क्षमता र कथावाचन शैलीलाई नयाँ उचाइमा पुर्याउने दाबी गरिएको यो फिल्म सन् २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने निर्माण युनिटको तयारी छ ।

















Discussion about this post