इटहरी/ भारतको उत्तराखण्डस्थित प्रसिद्ध नीम करोली बाबाको आश्रम कैँची धामको शान्त र आध्यात्मिक माहोलबाट नेपाली अभिनेत्री रेखा थापाले आफ्नो नयाँ फिल्मी यात्राको सुरुवात गरेकी छिन् । गत सोमबार साँझ मन्दिरमा विशेष पूजाआजा गर्दै रेखाले आफ्नो होम प्रोडक्सनको आठौँ फिल्म ‘काउकुती’ निर्माणको औपचारिक घोषणा गरेकी हुन् ।
आफ्नो ब्यानरबाट सधैँ फरक विषयवस्तु पस्किने रेखाले यसपटक दर्शकलाई नाम जस्तै मनोरञ्जनात्मक ‘काउकुती’ लगाउने तयारी गरेकी छिन् । अनुभवी अभिनेत्री, महिला निर्देशक, नयाँ नायक र चर्चित र्यापरको यो ‘फ्युजन’ ले फिल्मलाई निकै रोचक बनाउने देखिन्छ । फिल्मको निर्देशन श्रद्धा प्रसाईँले गर्दैछिन् । चर्चित टेलिभिजन शो ‘कमेडी दरबार’ र प्रदर्शनको पखाईमा रहेको फिल्म ‘ककाकिकी’ को निर्देशन गरिसकेकी श्रद्धाको प्रवेशले फिल्ममा उत्कृष्ट कमेडी र मनोरञ्जनको अपेक्षा गरिएको छ ।

फिल्मको मुख्य भूमिकामा रेखा थापा आफैँ प्रस्तुत हुनेछिन् । उनको जोडीका रूपमा भने एक जना नयाँ अनुहारलाई नेपाली फिल्म क्षेत्रमा डेब्यु गराउने तयारी निर्माण पक्षको छ । फिल्मको कथा विक्की अग्रवाल र विनेश राईले मिलेर बुनेका हुन् भने यसलाई पटकथाको रूप विनेश स्वयंले दिएका हुन् । यस प्रोजेक्टमा रेखाका श्रीमान् बलराम शाही ठकुरी र नवराज श्रेष्ठको संयुक्त लगानी रहनेछ ।
आगामी असोज महिनाबाट सुटिङ फ्लोरमा जाने यस फिल्मको सांगीतिक पक्षलाई निकै महत्त्व दिइएको छ । प्रशान्त सिवाकोटीको संगीत रहने यस फिल्ममा युवापुस्ताका ढुकढुकी चर्चित र्यापर लिल झोला अर्थात् आकाश क्षेत्रीले एउटा विशेष गीत गाउने पक्का भएको छ । नीम करोली बाबाको आशीर्वाद बोकेर असोजदेखि छायाङ्कनमा निस्किन लागेको रेखाको यो नयाँ टिमले नेपाली बक्स अफिसमा कस्तो जादु गर्ने हो, त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

















Discussion about this post