इटहरी/ सदाबहार गायक रामकृष्ण ढकालको जादुमयी स्वर सुन्नेबित्तिकै धेरैको मन छुन्छ । यसैबीच, प्रेम, रोमान्स र त्यसपछिको बिछोडले ल्याउने उकुसमुकुसलाई समेटेर उनको नयाँ मर्मस्पर्शी गीत ‘नत तिम्रो’ दर्शक तथा श्रोतामाझ आएको छ । ‘साउन्डमिल क्रिएसन’ युट्युब च्यानलमार्फत यसको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । यस सांगीतिक कोसेलीमा नरेश प्रधानको मार्मिक शब्द तथा सूर्य कास्यपको सुमधुर संगीत रहेको छ ।
गीतले एउटा प्रेम जोडीको सामीप्यतादेखि उनीहरूबीच उत्पन्न हुने तकरार र अन्त्यमा आइपर्ने बिछोडको गहिरो भावलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । गीतको अडियो जति उत्कृष्ट छ, भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । काठमाडौं र यस आसपासका सुन्दर लोकेसनमा खिचिएको भिडियोमा मोडल नरेन खड्का र करिश्मा श्रेष्ठको जोडी बाँधिएको छ । यी दुईको अनस्क्रिन केमेस्ट्री र जीवन्त अभिनयलाई दर्शकले निकै रुचाइरहेका छन्, जसका कारण रिलिज भएको छोटो समयमै भिडियोले युट्युबमा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । हेर्नुस् भिडियो ।

यस भिडियोको पर्दापछाडिको कमाण्ड चर्चित निर्देशक निकेश खड्काले सम्हालेका छन् भने दृश्यहरूलाई उत्सव दाहालले क्यामेरामा कैद गरेका छन् । त्यस्तै, यस प्रोजेक्टलाई सफल बनाउन गायिका बुनु श्रेष्ठले प्रोजेक्ट निर्देशकको महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । ‘साउन्डमिल क्रिएसन’ बाट सार्वजनिक गरिएको यो गीत केवल एउटा सांगीतिक प्रस्तुति मात्र होइन ।
@parikalanewsofficial
निर्माण कम्पनीका अनुसार, यस च्यानलले मनोरञ्जनका साथसाथै हरेक वर्ष सामाजिक जनचेतनामूलक सिर्जनाहरू समेत पस्कँदै आएको छ । यसअघि पनि साउन्डमिलले ‘युवा तिमीलाई सलाम’, ‘स्वीकार’, ‘आऊ साथी’, ‘आमा’, ‘नभन मेरो भाग्य’ र ‘साथ हुँदैमा’ जस्ता थुप्रै अर्थपूर्ण र सन्देशमूलक गीतहरू बजारमा ल्याइसकेको छ । उत्कृष्ट टिमवर्क र रामकृष्ण ढकालको स्वरले सजिएको यो नयाँ गीत ‘नत तिम्रो’ ले पनि सांगीतिक बजारमा राम्रो स्थान बनाउने अपेक्षा गरिएको छ ।

















Discussion about this post