इटहरी/ नेपाली फिल्ममा पछिल्लो समय माटोको सुगन्ध बोकेका र मौलिक ग्रामीण परिवेशका कथाहरूले दर्शकको विशेष साथ पाइरहेका छन् । दर्शकको यही मनोविज्ञानलाई आत्मसाथ गर्दै आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित फिल्म ‘काजी’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले परम्परागत शैलीभन्दा फरक ढंगले गाउँले परिवेश र प्रेमिल भावलाई एउटै फ्रेममा उतारेर दर्शकको ध्यान तानेको छ ।
सार्वजनिक पोस्टरले दर्शकलाई सिधै पहेँलपुर तोरीबारी र पुरानो गाउँले घरको पृष्ठभूमिमा पुर्याउँछ, जहाँ नेपाली फिल्म क्षेत्रका दुई सशक्त र बहुमुखी कलाकार विपिन कार्की र केकी अधिकारी एकअर्काको प्रेममा हराइरहेका देखिन्छन् । यो पोस्टर केवल एउटा प्रचार सामग्री मात्र नभई फिल्मको समग्र कथा बोल्ने ऐना जस्तो आभास हुन्छ ।

सधैं फरक लुक्स र चरित्रमा रमाउने विपिन यसपटक गाउँले ‘काजी’ को अवतारमा ढाका टोपी र सेतो सर्टसंगै हाफ स्वीटर लगाएर निकै परिपक्व देखिएका छन् । उनको भावपूर्ण अंगालोमा बाँधिएकी केकीको अनुहारमा छल्किएको शान्त र गहिरो प्रेमभावले जो कोहीको मन छुन्छ । उनीहरूको साधारण गाउँले पहिरन र यी दुईबीच देखिएको स्वाभाविक तथा बलियो ‘स्क्रिन-केमेस्ट्री’ले फिल्मभित्र कुनै मार्मिक पारिवारिक वा प्रेमकथा लुकेको स्पष्ट संकेत गर्छ ।
@parikalanewsofficial
‘रिजाल एन्ड रिजाल प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको यस फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । राम प्रसाद रिजाल प्रस्तुतकर्ता रहेको ‘काजी’लाई निर्माण पक्षले एउटा उत्कृष्ट ‘भावनात्मक सामाजिक कथा’ को रूपमा चिनाएको छ । फिल्ममा शीर्ष भूमिकामा रहेका विपिन र केकीका अलावा गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहाडी र हिउँवाला गौतम लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ ।
यसअघि सार्वजनिक भएका प्रचार सामग्रीले नै दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया बटुलिसकेको अवस्थामा, यो पछिल्लो पोस्टरले फिल्मप्रतिको अपेक्षालाई थप उचाइमा पुर्याएको छ । जेठ ८ गते बक्स अफिसमा राम्रो प्रभाव छाड्ने अपेक्षा गरिएको यस फिल्मले दर्शकको बढ्दो कौतूहलतालाई मेटाउन अब छिट्टै आधिकारिक ट्रेलर सार्वजनिक गर्ने जानकारी गराएको छ । मौलिक कथावस्तु रुचाउने दर्शकका लागि ‘काजी’ एउटा विशेष प्रतिक्षित फिल्म बन्ने पक्का छ ।
















Discussion about this post