इटहरी/ नेपाली वेबसिरिज भन्नासाथ कोठाभित्र खिचिएका लामो संवाद र सुस्त गतिको कथा हाम्रो दिमागमा आउँछ । तर, यो परम्परागत भाष्यलाई पूर्ण रूपमा भत्काउँदै ‘सिनेम्याटिक एक्सन’ र भरपुर ‘थ्रिल’ पस्किएर एउटा नयाँ सिरिजले दर्शकको ध्यान तानेको छ- त्यो हो, ‘साहु बा’। म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुति रहेको यस सिरिजले रिलिजको छोटो समयमै आफ्नो वृहत् क्यानभास र हलिउड बलिउड शैलीको एक्सनका कारण राम्रो चर्चा बटुलिरहेको छ ।
‘साहु बा’ को सबैभन्दा बलियो र चर्चाको विषय यसको ‘स्केल’ हो । नेपाली वेबसिरिजको इतिहासमै सम्भवतः पहिलो पटक ३८० भन्दा बढी कलाकारले यसमा अभिनय गरेका छन् । प्रियंका कार्की, विजु पार्की, कविता नेपाली, सरिता गिरी, नम्रता श्रेष्ठ, अमित शाह, अमित गिरी, प्रियंका चौधरी, हिना नगरकोटी जस्ता फिल्म र रंगमञ्चका स्थापित कलाकारहरूको बाक्लो उपस्थिति यस सिरिजमा देख्न सकिन्छ ।
विशुद्ध ‘क्राइम, एक्सन र बदलामा आधारित यसको कथा सीमापारिबाट हुने अवैध कारोबार र कालो धनको चलखेलबाट उठान हुन्छ । सार्वजनिक सुरुवाती दुई एपिसोडमै देखाइएको भयानक सडक दुर्घटना र रहस्यमय घटनाक्रमले दर्शकलाई कौतूहलतामा बाँधेर राख्न सफल भएको छ । सिरिजमा विजु पार्की मुख्य भूमिकामा छन् । पर्दामा उनलाई बदलाको आगोमा जलिरहेको एक सङ्घर्षशील युवकको रूपमा प्रस्तुत गरिएको छ ।
@parikalanewsofficial
रगतले लतपतिएको हातमा ‘कागजको जहाज’ बोकेको दृश्यले उनको बाल्यकालको कुनै गहिरो घाउलाई सङ्केत गर्छ, जसले एक्सनभित्र पनि गहिरो संवेदना लुकेको प्रस्ट पार्छ । दर्शकहरूले अक्सर नेपाली सिरिजहरू संवादमा मात्र अल्झिने गुनासो गर्छन् । तर ‘साहु बा’ ले दृश्यलाई बोल्न दिएको छ । आगो, आधुनिक हतियारको प्रयोग, सडकका चेसिङ दृश्यहरू र अस्पतालभित्रका सस्पेन्सले सिरिजलाई निकै रोमाञ्चक बनाएका छन् ।
कुल २४ भागमा समेटिएको यो सिरिज रातारात बनेको होइन । यसलाई तयार पार्न निर्माण टोलीले पूरै ३ वर्षको लामो समय खर्चिएको छ । यो सिरिजको लेखन तथा निर्देशन सुजोय योङले गरेका हुन् भने छायांकन आयुषमान जोशी, संगम राई र अनिश तामाङले गरेका छन् । यस्तै द्वन्द्व निर्देशन पेमा लामा र राजु तामाङ, सम्पादन रामप्रसाद चौधरी, संगीत सागर आले, मिस्टर डी र उजन शाक्यले गरेका छन् । हरेक साता साँझ ६ बजेपछि ‘म्युजिक नेपाल इन्टरटेनमेन्ट’ को आधिकारिक युट्युब च्यानलमा र कुनै पर्खाइ बिना सबै एपिसोड एकैपटक हेर्न चाहने दर्शकका लागि भने मोमो एपमा सम्पूर्ण भागहरू उपलब्ध छन् ।
















Discussion about this post