इटहरी/ नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय र क्षेत्रीय बजारसम्म पुर्याउने महत्त्वाकांक्षी लक्ष्यसहित अभिनेत्री प्रियंका कार्कीको नयाँ फिल्म ‘मास्टर्नी’ले भव्य तयारी थालेको छ । आगामी भदौ १२ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यस फिल्म टिमले नेपाली फिल्मको इतिहासमै फरक अभ्यास गर्दै एकसाथ ८ वटा भाषामा दर्शकमाझ ल्याउने जमर्को गरेको हो ।
निर्माण पक्षका अनुसार नेपालीका साथै यो फिल्म हिन्दी, बङ्गाली, तमिल, तेलुगु, मलयालम, भोजपुरी र पञ्जाबी भाषामा डबिङ भएर रिलिज हुनेछ । केवल १७ दिनको छोटो अवधिमै सम्पूर्ण छायांकन सकाएको निर्माण टोली यतिबेला फिल्मको पोष्ट प्रोडक्सनलाई उत्कृष्ट बनाउन भारतको मुम्बईमा व्यस्त छ । बलिउडकै स्तरमा प्राविधिक काम भइरहेकाले यस फिल्मको मेकिङमा कुनै सम्झौता नगरिएको निर्माण पक्षले जनाएको छ ।
यही वैशाख १ गते नयाँ वर्षको अवसर पारेर निर्माण टिमले फिल्मको ‘फर्स्ट लुक’ सार्वजनिक गरिसकेको छ । यस फिल्मलाई भारतीय निर्देशक सुभेन्दु घोषले निर्देशन गरेका हुन् । फिल्ममा नेपालका चर्चित र स्थापित कलाकारहरूको ठूलो जमघट देख्न सकिन्छ । प्रियंका कार्कीको साथमा सरोज खनाल, ऋचा शर्मा, आर्यन सिग्देल, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, सिम्रन खड्का लगायत दर्जनौं कलाकारहरूले यसमा अभिनय गरेका छन् ।
@parikalanewsofficial
‘मास्टर्नी’ अभिनयमा मात्र सीमित नभई प्रियंकाको निर्माण र लेखनसँग पनि जोडिएको छ । फिल्मको मूल कथा प्रियंका कार्की स्वयं र सान बस्नेतले तयार पारेका हुन् भने संवाद पनि उनीहरू दुवैले मिलेर लेखेका हुन् । यस बृहत् प्रोजेक्टलाई प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन् भने सुरक्षा सिंह मलहोत्राले कार्यकारी निर्माताको जिम्मेवारी सम्हालेकी छन् ।
















Discussion about this post