इटहरी/ सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको प्रतिक्षित नेपाली फिल्म ‘रोल नम्बर १’आउँदो जेठ १५ गतेदेखि देशभरका फिल्म हलहरूमा एकसाथ प्रदर्शनमा आउँदैछ । विनोद पौडेलद्वारा निर्मित यस फिल्मले रिलिज अगावै एउटा नयाँ मानक स्थापित गरेको छ । नेपाली फिल्मको इतिहासमै पहिलो पटक कुनै पनि फिल्मले कोशी प्रदेशमा यति लामो र वृहत प्रमोसनल अभियान सञ्चालन गर्दैछ ।
वैशाख २० गतेदेखि सुरु हुने यस ६ दिने ऐतिहासिक अभियानमा फिल्मको टोलीले दर्शक, विद्यार्थी, सञ्चारकर्मी र फिल्म हल सञ्चालकहरूसँग प्रत्यक्ष साक्षात्कार गर्नेछ । कोशी प्रदेशलाई विशेष प्राथमिकतामा राखेर तयार पारिएको ‘रोल नम्बर १’ को ६ दिने वृहत कार्यतालिका अन्तर्गत पहिलो दिन अर्थात् वैशाख २० गते आइतबार बिहान काठमाडौँबाट प्रस्थान गरी टोली कोशी प्रदेशको बिर्तामोड पुग्नेछ । पहिलो दिन लामो यात्रा हुने भएकाले टोलीले आराम गर्नेछ र बिर्तामोडमै रात बिताउनेछ ।
त्यसको भोलिपल्ट वैशाख २१ गते सोमबार टोलीले बिर्तामोडका विभिन्न विद्यालयहरूको भ्रमण, सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया र फिल्म हलहरूको अवलोकन गर्नेछ । त्यसपछि स्थानीय टोलीसँग हल व्यवस्थापनको समन्वय गर्न टोली दमक पुग्नेछ र त्यहीँ बास बस्नेछ । यस्तै वैशाख २२ गते मंगलबार दमकमा बाँकी रहेका विद्यालय, सञ्चारमाध्यम र हलहरूको भ्रमण सम्पन्न गरी टोली इटहरीतर्फ लाग्नेछ । यसै दिन बेलबारीस्थित ‘शिक्षा सन्देश’ विद्यालयको पनि विशेष भ्रमण गरिनेछ । त्यसपश्चात टोलीको बास इटहरीमा हुनेछ ।
@parikalanewsofficial
वैशाख २३ गते बुधबार इटहरीमा विद्यालय भ्रमण, सञ्चारमाध्यमसँगको भेटघाट र हलहरूको अवलोकन गरिनेछ । यस दिनको मुख्य आकर्षण भने ‘रात्रिकालीन कन्सर्ट’ रहनेछ, जसले दर्शकहरूलाई थप मनोरञ्जन प्रदान गर्नेछ । सो दिन टोली इटहरीमै बस्नेछ । त्यसपश्चात वैशाख २४ गते बिहीबार बेलबारी र विराटचोकका २ वटा विद्यालयको भ्रमण गरेपछि टोली धरान पुग्नेछ । धरानमा पनि २ वटा विद्यालय, सञ्चारमाध्यम र साँझ फिल्म हलको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । यस दिनको बास धरानमा हुनेछ ।
यस्तै टिमको वैशाख २५ गते शुक्रबार कोशी प्रदेशको अन्तिम प्रमोसन विराटनगरमा हुनेछ । साँझसम्म विराटनगरका विद्यालय, सञ्चारमाध्यम र फिल्म हलको भ्रमण सम्पन्न गरेपछि टोली आफ्नो अर्को गन्तव्य, नेपालगञ्ज प्रस्थान गर्नेछ । निर्माता विनोद पौडेल र सेभेन सिज सिनेमाको यो कदमले मोफसलका दर्शकलाई नेपाली फिल्मप्रति थप आकर्षित गर्ने विश्वास लिइएको छ । विद्यालय भ्रमणदेखि सांगीतिक कन्सर्टसम्मका कार्यक्रमहरू एक प्रदेशका लागि तय गरिएको यस पहिलो र सबैभन्दा लामो प्रमोसन अभियानले जेठ १५ को पर्खाइमा रहेका दर्शकमाझ ‘रोल नम्बर १’ को उत्कृष्ट माहोल सिर्जना गर्ने निश्चित छ ।
















Discussion about this post