इटहरी/ नेपाली फिल्म क्षेत्रमा लगातार हिट फिल्म पस्किँदै आएको षट्कोण आर्ट्सको नयाँ फिल्म ‘लालीबजार’ले प्रदर्शन अगावै निकै राम्रो चर्चा बटुलिरहेको छ । वादी समुदायमा प्रचलित ‘नाथिया’ जस्तो कु-प्रथा र आफ्नी छोरीको रक्षाका खातिर एउटी आमाले गर्ने सङ्घर्षको गम्भीर कथा उठान गरेको यस फिल्मको ट्रेलर र गीतहरूले दर्शकको मन जितिरहेका छन् । यही वैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म यतिबेला सामाजिक सञ्जालदेखि युट्युब ट्रेन्डिङसम्म छाएको छ ।
निर्माण पक्षले भर्खरै फिल्मको तेस्रो गीत ‘मै राम्री छु त नी’ को सानो अंश सार्वजनिक गरेको छ । नारी सुन्दरताको वर्णन गरिएको यस गीतको भिडिओमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कालाई केन्द्रमा राखिएको छ । प्रकाश सपूतको शब्द र सङ्गीत रहेको गीतमा दीपिका बयम्बू मगरको स्वर छ भने कोरस भोकलमा रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनारलगायतले साथ दिएका छन् । गीतको कोरियोग्राफी प्रदीप लामाले गरेका हुन् । हेर्नुस् गीत ।
सार्वजनिक भएसँगै यो गीत टिकटक, फेसबुक रील्स र युट्युब शट्समा प्रयोग हुन थालेको छ । दर्शकले गीतको फुल भर्सन भने वैशाख १८ गते फिल्मसँगै हलमै हेर्न पाउनेछन् । यसअघि सार्वजनिक भएका ‘मायालाई के दिउँ म बैना’ र ‘मिठो संसार’ ले पनि दर्शकको अपार माया पाइसकेका छन् । गत वैशाख ४ गते सार्वजनिक भएको फिल्मको ट्रेलरले युट्युबको मुभी ट्रेन्डिङ चार्टको दोस्रो स्थान ओगट्न सफल भएको छ । ट्रेलरमा देखिएको स्वस्तिमा खड्काको आमा अवतार, रवीन्द्र सिंह बानियाँको जीवन्त अभिनय र बालकलाकार समाइरा थापाको प्रस्तुतिलाई सेलिब्रेटीदेखि आम दर्शकले रुचाएका छन् ।
यसै फिल्ममार्फत रङ्गमञ्चका कलाकार विशाल देवकोटा र ‘जेनजी’ पुस्तामाझ चर्चित प्रसंशा सुवेदीले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म दिएको म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँको निर्माण रहेको यस फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् । ‘रज्जा रानी’, ‘हुर्रे’ जस्ता विषयप्रधान फिल्मका निर्देशक थापा र फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराईले संयुक्त रूपमा यसको पटकथा र संवाद तयार पारेका हुन् । बर्दियाको राजापुरमा छायांकन स्थल खोज्ने क्रममा निर्देशक भट्टराईले नै फिल्मको नाम ‘लालीबजार’ राख्न प्रस्ताव गरेका थिए, जसमा सिंगो टिम सहमत भएको थियो ।
@parikalanewsofficial
बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, गोविन्द सुनार, जानकी कठायत लगायतका कलाकारको पनि अभिनय रहेको छ । सुशन प्रजापतीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, जेबी रुवालीको क्रिएटिभ निर्देशन र सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ । फिल्ममा प्रकाश सपूतसँगै खेम सेन्चुरी र जयन जे वाइवाको सङ्गीत सुन्न सकिन्छ भने ब्याकग्राउण्ड म्युजिक रोहित शाक्य र शैलेश श्रेष्ठले तयार पारेका हुन् । गम्भीर विषयवस्तु, उत्कृष्ट प्राविधिक टोली र सफल ब्यानरको साथ पाएको ‘लालीबजार’ ले नेपाली बक्स अफिसमा अर्को बलियो उपस्थिति जनाउने पक्कापक्की जस्तै छ ।
















Discussion about this post