इटहरी/ प्रतिक्षित नेपाली फिल्म ‘मालती मंगले’को निर्माण तथा कलाकार टोलीले आज इटहरीमा एक विशेष पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सोही समारोहको अवसर पारेर चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको औपचारिक उद्घाटन समेत गरिएको छ ।
पूर्वका प्रमुख शहरहरू धरान, विराटनगर र इटहरीका सञ्चारकर्मीहरूको उपस्थिति रहेको उक्त पत्रकार सम्मेलनमा फिल्मका बारेमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा फिल्म युनिटले सञ्चारकर्मी तथा दर्शकहरूसँग ‘मालती मंगले’लाई माया र साथ दिन आग्रह गरेको छ ।
उक्त विशेष पत्रकार भेटघाटमा फिल्म मालती मंगलेलका प्रस्तुतकर्ता रामकृष्ण ढकाल, प्रमुख कलाकारहरू वर्षा राउत, विजय बराल र मेक्सम गौडेलका साथमा गायिका सलिना विक र मीडिया संयोजक जीवन पराजुलिको उपस्थित रहेको थियो । पत्रकार सम्मेलन मात्र नभई, दर्शकहरूसँग प्रत्यक्ष साक्षात्कार गर्न ‘मालती मंगले’ टिमले आजै साँझ ६ बजे इटहरीको संगीत चोकमा एक वृहत् सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्दैछ ।
यस खुला कार्यक्रममा फिल्मका प्रमुख कलाकारहरू वर्षा राउत र विजय बराललगायत मुख्य आकर्षणका रूपमा रहनेछन् । उपस्थित दर्शकहरूका लागि आजको साँझ निकै विशेष हुनेछ, जहा कालजयी गीतहरूको गुञ्जन गराउन नेपाली सुगम संगीतका नक्षत्र, गायक तथा फिल्मका प्रस्तुतकर्ता रामकृष्ण ढकालले आफ्ना सदाबहार र चर्चित गीतहरू गाएर दर्शकलाई मन्त्रमुग्ध पार्नेछन् ।
यस्तै गायिका सलिना विकले पनि आफ्ना उत्कृष्ट गीतहरूमार्फत सांगीतिक माहोल तताउने छिन् भने दर्शकलाई हसाउनका लागि चर्चित कलाकार मेक्सम गौडेलले आफ्नो बेजोड कमेडी प्रस्तुति दिनेछन् । फिल्मको प्रचारप्रसारसँगै दर्शकलाई भरपुर मनोरञ्जन दिने उद्देश्यले आयोजना हुन लागेको यो सांगीतिक साँझमा इटहरीवासीको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ । यो फिल्म यही वैशाख २५ गतेदेखि देशभरका फिल्म हलहरूमा एकसाथ प्रदर्शन हुँदैछ ।
















Discussion about this post