इटहरी/ ब्लकबस्टर फिल्म ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को आगामी बहुप्रतीक्षित प्रोजेक्ट ‘चिरञ्जीवी भवः’ले विस्तारै बृहत आकार लिँदैछ । नयाँ वर्ष २०८३ को अवसर पारेर वैशाख १ गते निर्माण घोषणा गरिएको यस फिल्मको मुख्य भूमिकामा अब अभिनेता आशीर्वाद क्षेत्री पक्का भएका छन् ।
बुधबार निर्माण टिमले आशीर्वादलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो । यससँगै फिल्ममा उनको जोडी चर्चित मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझीसँग बाँधिने तय भएको छ । उनी यस अघि नै अनुबन्ध भएका हुन् । दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा आफ्नो अभिनय कौशल निखारिसकेका आशीर्वादले ‘नाइँ नभन्नू ल ६’ बाट ठूलो पर्दामा डेब्यु गरेका थिए ।

बक्स अफिसमा सो फिल्म सफल नभए पनि उनको एक्सन र डान्सिङ अवतारलाई दर्शकले रुचाएका थिए । त्यसयता ‘टासिदेलेक’ र पछिल्लो समय ‘श्री बुकुरो : द होम कलिङ’ जस्ता फिल्ममा काम गरिसकेका आशीर्वादका लागि यो नयाँ प्रोजेक्ट निकै महत्त्वपूर्ण मानिएको छ । फिल्मको कथा कुमार कट्टेल ‘जिग्री ब्रो’ले तयार गरेका छ भने पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार गर्नेछन् ।
@parikalanewsofficial
यो फिल्मको निर्मातामा उमेश कुमार बराल, कार्यकारी निर्मातामा कुमार कट्टेल र शैलेश खत्री रहनेछन् । हाल फिल्मको स्क्रिप्टको अन्तिम ड्राफ्टलाई माझ्ने काम धमाधम भइरहेको छ । निर्माण पक्षका अनुसार प्रि-प्रोडक्सनको काम लगभग अन्तिम चरणमा पुगेको छ र अबको दुई महिनाभित्रै फिल्मलाई फ्लोरमा लैजाने योजना छ ।















Discussion about this post