इटहरी/ सुनसरीलाई फिल्मकर्मीहरूको प्रमुख केन्द्र बनाउने उद्देश्यका साथ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाले इटहरीमा आफ्नै कार्यालय सञ्चालनमा ल्याएको छ । बुधबार एक विशेष कार्यक्रमका बीच नेपाली फिल्म ‘मालती मंगले’ को टोलीले संयुक्त रूपमा ब्यानर अनावरण गर्दै उक्त कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् ।
इटहरीको पश्चिम लाइनस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि स्थापना भएको यस कार्यालयको उद्घाटन समारोहमा चर्चित गायक तथा निर्माता रामकृष्ण ढकाल, कलाकारहरू विजय बराल, वर्षा राउत, मेक्सम गौडेल र गायिका सलिना बिक लगायतको उपस्थिति रहेको थियो । नवनिर्वाचित अध्यक्ष सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै शाखाले आफ्नो भौतिक संरचना तयार पारेको हो । परिकलाकर्मी समेत रहेका उनले सुनसरी शाखाको तेश्रो कार्यकाल सम्हाल्दैछन् । यसअघि २ कार्यकाल विनोद विश्वकर्माले सम्हालेका थिए ।

शाखा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गायक तथा निर्माता रामकृष्ण ढकालले चलचित्र पत्रकार र चलचित्रकर्मीबीचको सम्बन्ध ‘नङ र मासु’ जस्तै अभिन्न रहेको धारणा राखे । उनले शाखाको आफ्नै कार्यालय खुल्नु निकै सकारात्मक कदम भएको भन्दै आफ्नो तर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता जनाए । त्यस्तै, चर्चित कलाकार विजय बरालले यो कार्यालय अब चलचित्रकर्मीहरूबीच भेटघाट र रचनात्मक छलफल गर्ने एउटा उत्कृष्ट “जक्सन” बन्ने विश्वास व्यक्त गरे ।
@parikalanewsofficial
नायिका वर्षा राउतले पूर्व आउँदा आफूलाई सधैं छुट्टै अपनत्व महसुस हुने भन्दै कार्यालय स्थापना गर्न सफल भएकोमा पत्रकारहरूलाई बधाई ज्ञापन गरिन् । कार्यक्रममा बोल्दै संघका पूर्व उपाध्यक्ष जीवन पराजुलीले मोफसलका पत्रकारहरूले देखाएको एकता प्रशंसनीय रहेको र यो सुनसरी शाखाको अभ्यास अन्य शाखाहरूका लागि पनि प्रेरणाको स्रोत बन्न सक्ने बताए । यसैगरी, चलचित्र पत्रकार संघका कोशी प्रदेश इन्चार्ज तथा केन्द्रीय सदस्य नरेन्द्र बस्नेतले कोशी प्रदेशका ५ वटा शाखाहरूमध्ये सुनसरीले आफ्नै कार्यालय स्थापना गर्न सफल हुनु सिंगो संस्थाका लागि गर्वको विषय रहेको उल्लेख गरे ।

कार्यक्रमको सभापतित्व ग्रहण गरेका शाखा अध्यक्ष सुवास संकल्प श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता नै कार्यालय स्थापना गर्नु रहेको र त्यो लक्ष्य पूरा हुँदा अत्यन्तै खुसी लागेको बताए । उनले सुनसरी जिल्लालाई चलचित्रकर्मीहरूको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखिएको र यस अभियानमा सबै सरोकारवालाको साथ र सहयोग अपरिहार्य रहेको कुरामा जोड दिए ।

















Discussion about this post