इटहरी/ सधैं पर्दामा दर्शकलाई हँसाउने हास्यकलाकार जितु नेपाल मुन्द्रे यसपटक भने आफैं रोएका छन् । अनुहारमा रङ्गीचङ्गी ‘जोकर’ को मेकअप, तर आँखाहरूमा गहिरो उदासी र पीडा ! दर्शकमाझ निकै कौतूहलता जगाउने यी दृश्यहरू हुन्- उनको आगामी फिल्म ‘आई एम जित बहादुर’ को । कर्म भूमि क्रिएसन प्रा. लि. को प्रस्तुति रहेको यस फिल्मका तीनवटा फरक र अर्थपूर्ण फर्स्ट लुक पोस्टरहरू भर्खरै सार्वजनिक भएका छन् ।
सार्वजनिक पोस्टरले फिल्म कुनै हल्काफुल्का कमेडी मात्र नभई एउटा गम्भीर, पारिवारिक र मर्मस्पर्शी कथामा निर्माण भएको बलियो संकेत दिएको छ । सार्वजनिक तस्बिरहरूमा मुख्य कलाकार जितु नेपाल र अभिनेत्री वर्षा राउतलाई निकै फरक अवतारमा प्रस्तुत गरिएको छ । एउटा पोस्टरमा जितु सर्कसको जोकरको भेषमा भुइँमा बसेका छन्, जहाँ उनको अनुहारमा हाँसो शून्य छ । अर्कोतर्फ, कालो पहिरनमा देखिएकी वर्षा राउतको मुहारमा पनि चरम निराशा र गम्भीरता झल्किन्छ ।

तर, अर्को एउटा दृश्यमा भने जितु र वर्षाले एकअर्काको हात समातेर कुनै गहिरो वाचा वा वचन दिइरहेको देख्न सकिन्छ । पृष्ठभूमिमा मठमन्दिर र सम्पदाहरू देखिन्छन् । निराशा र अभावको बीचमा पनि उनीहरूले एकअर्कालाई दिएको आशा र भरोसाको यो झल्कोले दर्शकको मन छुन्छ । फिल्ममा जितु र वर्षा बाहेक अन्य कुन-कुन कलाकारहरूले अभिनय गरेका छन् भन्ने रहस्य भने निर्माण टिमले अझै खुलाएको छैन ।
@parikalanewsofficial
निर्माण पक्षका अनुसार केही समयपछि मात्रै अन्य कलाकारहरूको लाइनअप औपचारिक रूपमा सार्वजनिक गरिनेछ । सुभेन्दु घोषको निर्देशनमा तयार भएको यस फिल्मलाई अभिनेता जितु नेपाल आफैंले निर्माण गरेका हुन् । यही वर्षको असार ५ गतेदेखि प्रदर्शनमा आउने तय भएको फिल्मको सह-निर्माता राजन सिम्खडा र दिपेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्मातामा निश्चल कुँवर र निरज नेपाल रहेका छन् । दर्शकलाई सधैं हँसाउने जितुले यसपटक हलमा कत्तिको रुवाउने हुन्, त्यो भने प्रतीक्षाको विषय बनेको छ ।


















Discussion about this post