इटहरी/ कुनै समय ‘अन्डरग्राउन्ड’ र सीमित युवापुस्ताको सर्कलमा मात्रै गुन्जिने नेपाली हिप-हप तथा र्याप संगीत अब टेलिभिजनको मूलधारमा प्रवेश गरेको छ । नेपाली र्याप संगीतलाई व्यावसायिक उचाइ दिने र लुकेका प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यसहित नेपालकै पहिलो कमर्शियल र्याप रियालिटी शो ‘द र्यापर: लेट द भर्स स्पिक’ सिजन १ को घोषणा गरिएको छ ।
देशभरका र्याप पारखीहरूमाझ ठूलो उत्साह जगाएको यस शोमा उपाधिका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । आयोजकका अनुसार वैशाख १३ गते सम्पन्न डिजिटल अडिसनमा देशभरबाट ७ हजारभन्दा बढी युवा र्यापरहरूले आवेदन दिएका थिए । ती हजारौँ प्रतिस्पर्धीहरूलाई उछिनेर उत्कृष्ट ६४ जना छानिएका छन् । अब उनीहरूले आफ्नो शब्द, कम्पोजिसन र स्टेज प्रस्तुतिमार्फत आफूलाई अब्बल साबित गर्नुपर्नेछ ।

शोमा प्रतिस्पर्धीहरूको प्राविधिक पक्ष, शब्द चयन र बहुआयामिक क्षमताको परीक्षण गर्न नेपाली हिप-हपका अग्रज गिरीश खतिवडा ‘गोर्खाली जी’ मुख्य निर्णायकको कुर्सीमा हुनेछन् । त्यसैगरी, उत्कृष्ट ६४ लाई प्रशिक्षण दिन र उनीहरूको कला निखार्न ४ जना अनुभवी र्यापरहरूलाई ‘स्क्वाड लिडर’को जिम्मेवारी दिइएको छ । जसमा विवश जमरकट्टेल ‘विवश जेके’, बिबेक घोरासैनी ‘बीजी बिर्गोर्खाली’ संकेत श्रेष्ठ ‘ओएमजी स्पार्क’ र जगत पुन ‘रेक्स’ रहेका छन् ।
@parikalanewsofficial
कुल २० एपिसोडमा समेटिने यो शोको सांगीतिक भिडन्त उत्कृष्ट ६४ बाट सुरु भएर टप १६, टप १० हुँदै उत्कृष्ट ४ फाइनलमा पुगेर टुंगिनेछ । उत्कृष्ठ १६ देखि उत्कृष्ठ १० सम्म निर्णायकको ५० प्रतिशत र दर्शकको ५० प्रतिशत भोटका आधारमा छनोट हुनेछ । यस्तै उत्कृष्ठ १० पछि प्रतिस्पर्धीको भाग्य पूर्ण रूपमा दर्शकको भोटले मात्र निर्धारण गर्नेछ ।

एनएक्सजी इन्टरटेनमेन्टको आयोजना तथा युवराज साउदको निर्देशनमा तयार भइरहेको ‘द र्यापर’ आगामी जेठको दोस्रो सातादेखि हिमालयन टेलिभिजन मार्फत प्रसारण हुनेछ । कार्यक्रम प्रसारणको निश्चित मिति छिट्टै सार्वजनिक गरिनेछ । शोको डिजिटल पार्टनरमा ‘हाइलाइट्स नेपाल’ र भोटिङ पार्टनरमा ‘खल्ती’ रहेका छन् । सिजन १ को विजेताले आकर्षक ट्रफीका साथ नगद १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसका साथै, फाइनलमा पुग्ने उत्कृष्ट प्रतिस्पर्धीहरूलाई अन्तर्राष्ट्रिय सांगीतिक टुरको समेत विशेष अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।
















Discussion about this post