इटहरी/ नेपाली फिल्म क्षेत्रका चर्चित निर्देशक मिलन चाम्सले वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामाको कामप्रतिको समर्पण र अनुशासनको खुलेर प्रशंसा गरेका छन् । आफ्नो आगामी फिल्म ‘सुम्निमा’ को छायांकनका क्रममा लामाले देखाएको मिहिनेतबाट प्रभावित हुँदै चाम्सले उनलाई “विमानको पनि महाराज र अभिनयको पनि महाराज” को संज्ञा दिएका हुन् ।
सामाजिक सञ्जालमा एक भावुक स्ट्याटस लेख्दै निर्देशक चाम्सले विजय लामासँगको पटक–पटकको सहकार्य आफ्नो लागि सधैं प्रेरणादायी रहेको बताएका छन् । चाम्सका अनुसार सेटमा पुगेपछि लामाले आफ्नो बाहिरी नाम, पद र पहिचान सबै भुलेर आफूलाई पूर्ण रूपमा चरित्रमा समर्पित गर्ने गरेका छन् । फिल्म ‘सुम्निमा’ को छायांकनका क्रममा लामाका लागि यसपटकको भूमिका निकै चुनौतीपूर्ण थियो ।

२१ देखि २७ वर्षका युवा कलाकारहरूसँगै एक्सन दृश्यहरू दिनुपर्ने भए पनि उनले कहिल्यै ‘थाकें’ भन्ने शब्द उच्चारण नगरेको चाम्सले स्मरण गरेका छन् । झनै छायांकनकै क्रममा घाइते हुँदा समेत लामाले कामप्रति देखाएको भोकले निर्देशकलाई भावुक बनाएको छ । “सुटिङको क्रममा घाइते भएपछि उहाँले भावुक हुँदै ‘अझै गर्न सक्थें, तर खुट्टाको कारणले भने जस्तो गर्न सकिनँ कि’ भनेर आँसु झार्नुभयो,” चाम्सले भनेका छन्, “त्यसबेला मैले उहाँलाई भनेँ- ‘महाराज, बबाल! यसभन्दा बढी गर्न सक्ने ठाउँ नै छैन ।'”
@parikalanewsofficial
सेटमा कहिल्यै गुनासो नगर्ने, निर्देशन टोलीको खटनपटनमा पूर्ण रुपमा तयार रहने र अत्यन्तै लचिलो स्वभाव भएका कारण नै लामासँग बारम्बार काम गर्न सम्भव भएको चाम्सको भनाइ छ । एउटा साँचो कलाकारमा हुनुपर्ने समर्पण, धैर्य र अनुशासन विजय लामामा भरिपूर्ण रहेको बताउँदै चाम्सले पछिल्लो घटनाले आफ्नो मन झनै जितेको उल्लेख गरेका छन् ।

















Discussion about this post