इटहरी/ नेपाली महिलाहरूले समाजमा भोग्नुपरेको संघर्ष, आत्मसम्मान र आत्मनिर्भरताको कथालाई पर्दामा उतार्न लागेको नयाँ फिल्म ‘टिका: स्टेटलेस सोल’ आगामी तीजमा दर्शकमाझ आउने भएको छ । निर्माण पक्षले नारीहरूको महान् पर्व तीजको अवसर पारेर भदौ २६ गतेलाई यसको प्रदर्शन मिति घोषणा गरेको हो । फिल्मको आधिकारिक प्रदर्शन तथा वितरणको जिम्मा सुनिल मानन्धरको ‘श्रीराम बालाजी फिल्मस्’ले पाएको छ ।
वितरण कम्पनीसँगको सम्झौतामा हस्ताक्षर भएसँगै निर्माण टिमले रिलिज मिति पक्का गरेको हो । यो फिल्म ‘भविष्य फिल्मस् प्रालि’ र ‘थर्ड आइ आर्ट्स प्रालि’को संयुक्त सहकार्यमा निर्माण हुन लागेको हो । शंकर कार्कीको निर्देशनमा बन्ने यस फिल्ममा अभिनेता महेश त्रिपाठी, अभिनेत्रीद्वय ऋचा शर्मा र वर्षा शिवाकोटीसँगै अग्रज हाँस्य कलाकार निर्मल शर्माको मुख्य भूमिका रहनेछ ।

निर्माण टोलीका अनुसार यतिबेला कलाकारहरूको वर्कशप सकिएको छ भने स्क्रिप्टलाई अन्तिम रूप दिँदै लोकेशन फाइनल गर्ने काम भइरहेको छ । सबै पूर्व-तयारी सकेर यही वैशाख तेस्रो साताबाट फिल्म फ्लोरमा जाँदैछ । यसअघि सुपरहिट फिल्म ‘जेरी अन टप’ निर्माण गरेकी भविष्य खड्काले नै ‘टिका’को निर्माण गर्न लागेकी हुन् ।

@parikalanewsofficial
‘जेरी अन टप’पछि निर्मात्री खड्का र पटकथा लेखक विश्वास तिम्सिना ‘बिटी कान्छा’बीचको यो दोस्रो सहकार्य हो । फिल्मको कार्यकारी निर्माताका रूपमा तेजविक्रम केसी रहेका छन् भने यसमा लोकप्रिय संगीतकार कालीप्रसाद बाँस्कोटाले संगीत भर्नेछन् । नारी प्रधान विषयवस्तु र बलियो निर्माण टिम रहेकाले ‘टिका’ले दर्शकको राम्रो साथ पाउने अपेक्षा गरिएको छ ।

















Discussion about this post