इटहरी/ हातमा मोबाइल फोन नहुने त्यो जमाना, जहाँ पिसिओ बुथबाट ल्यान्डलाइनमा कुरा गर्दाको मज्जा र पर्खाइ नै बेग्लै थियो । हो, करिब दुई दशक अगाडिको त्यही विगतका मिठा पलहरू र फरक कथावस्तु बोकेर प्रतिक्षित नेपाली फिल्म ‘जूबा’ फ्लोरमा गएको छ । बुधबार सर्लाहीमा एक कार्यक्रमका बीच शुभमुहूर्त गर्दै अस्त्र फिल्मसको प्रस्तुति रहेको यस फिल्मको औपचारिक रुपमा छायांकन थालिएको हो ।
फिल्मलाई निकै ठूलो क्यानभासमा उतार्ने निर्माण पक्षको तयारी छ । सर्लाहीमा पहिलो ७ दिनको छायांकन सकेपछि सुटिङ युनिट काठमाडौं फर्किनेछ । त्यसपछि फिल्मका महत्वपूर्ण दृश्यहरू भारतको राजस्थानका रमणीय स्थानहरूमा खिचिनेछन् । पूरै फिल्म खिच्न ७५ दिनको समय छुट्याइनुले यो प्रोजेक्ट प्राविधिक र दृश्यगत रुपमा निकै भव्य हुने अपेक्षा गरिएको छ ।

रक क्यासल स्टुडियोको निर्माण रहेको यस फिल्मले छायांकन अगावै सार्वजनिक गरेका तीनवटा क्यारेक्टर पोस्टरले दर्शकको ध्यान तानिसकेका छन् । मुख्य अभिनेता सौगात मल्ल एउटा पोस्टरमा क्यामेरालाई ‘नमस्ते’ गरिरहेका छन् भने अर्कोमा पिसिओ बुथमा फोनमा व्यस्त देखिन्छन् । उनको गेटअपले २० वर्ष पुरानो समयको कथा भन्ने संकेत गर्छ ।

@parikalanewsofficial
त्यही पिसिओ वाला पोस्टरमा सौगातसँगै अभिनेत्री सोफी धरेल रिसाएको मुद्रामा छिन् । सोफीले यसै फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछिन् । यस्तै तेस्रो पोस्टरमा चुरोट तानिरहेका सुधन पोखरेलको डरलाग्दो अवतार देख्न सकिन्छ । यसअघि दुईवटा फिल्म खेलिसकेका सुधनको मुख्य खलनायकको रुपमा यो पहिलो ठूलो प्रोजेक्ट हो ।
‘जूबा’को कथा बुन्ने र निर्देशन गर्ने जिम्मा प्रकाश कर्णले लिएका छन् । उनलाई पटकथा लेखनमा वर्षा पौडेलले सघाएकी छन् । निर्देशक कर्ण र लेखिका पौडेल दुवै जना यस फिल्मका ‘क्रिएटिभ प्रोड्युसर’ समेत हुन् । दुई दशक पुरानो समय, पिसिओको सेटिङ र राजस्थानसम्मको लोकेसनले फिल्मप्रति उत्सुकता जगाएको छ । यद्यपि, फिल्मको मूल कथावस्तु र अन्य सहायक कलाकारहरूको बारेमा भने निर्माण टिमले अहिलेलाई पूर्ण ‘सस्पेन्स’ कायम राखेको छ ।

















Discussion about this post