इटहरी/ गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत “मगमग बासना” सार्वजनिक गरिएको छ । यो रोमान्टिक शैलीको गीतमा लोकप्रिय संगीतकार तथा गायक कस्तुप पन्तले शब्द र संगीत भरेका छन् । गीतका शब्दहरू सरल र मिठासपूर्ण छन्, जसले प्रेम र सम्बन्धलाई अन्त्य यात्रासम्मको भावनामा प्रस्तुत गरेको छ । गायक बद्री पंगेनी र गायिका रचनाको स्वरले गीतलाई अझ कर्णप्रिय बनाएको छ ।
लोकगीत र आधुनिक गीतसंगीतमा अलग पहिचान बनाउन सफल सर्जक पन्तको यो गीतले पछिल्लो समय लोकगीतसंगीतमा देखिएको मौलिक खडेरीलाई पनि टार्ने विश्वास गरिएको छ । गीतको एरेन्जमेन्ट एचबिएन किस्मतले गरेका हुन् । गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोमा अभिनेता पल शाह र टिकटक स्टार जुना विश्वकर्माको अभिनय रहेको छ । भिडियोको निर्देशन र कोरियोग्राफी प्रशान्त मगरले गरेका हुन् भने, छायांकन दिनेश पराजुली र सम्पादन दीपक बिष्टले गरेका छन् । हेर्नुस् भिडियो ।
गीत सर्जक कस्तुप पन्तकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सर्जक पन्तका अनुसार, गीत सबै वर्गका मानिसहरूको रुचिलाई ध्यानमा राखेर निर्माण गरिएको छ र उनले श्रोता तथा दर्शकहरूले यसलाई मन पराउने विश्वास व्यक्त गरेका छन् । गीत सार्वजनिक भएपछि युट्युबमा सकारात्मक प्रतिक्रियाहरू पाइरहेको छ । गायक बद्री पंगेनीले पनि “मगमग बासना” आफ्नो शैलीको निरन्तरता भएको बताउँदै दर्शकहरूले गीतलाई मन पराएर सकारात्मक प्रतिक्रिया दिने विश्वास व्यक्त गरेका छन् ।
Discussion about this post