इटहरी/ फेसबुक रिल्स तथा टिकटकमा अहिले ‘कस्मिरे पछ्यौरी’ गीतले धुम मच्चाएको छ । टिकटक र फेसबुक रिल्समा थुप्रै प्रयोगकर्ताहरूले यस गीतको अडियो क्लिपमा भिडियो बनाउँदै छन्, जसले गर्दा गीत पुनः चर्चामा आएको हो । विशेष गरी गीतको टुक्का “लाजै लाग्यो हेरेँ भुइँतिर, आँखैको निशाना ट्याक्कै मै तिर” सामाजिक सञ्जालमा भाइरल भएको छ । यो गीत बाबुकृष्ण परियार र दिपिका बयम्बुको स्वरमा रहेको छ, जसलाई ७ महिनाअघि युट्युबमा सार्वजनिक गरिएको थियो । तर, पहिलो छ महिनासम्म गीतले अपेक्षित सफलता हासिल गर्न सकेन र २ लाख भ्युज पनि पार गर्न सकेको थिएन ।
तर, पछिल्लो महिनामा टिकटकमा यसको लोकप्रियता ह्वात्तै बढेसँगै आइतबारसम्म गीतले युट्युबमा एक करोड ६५ लाखभन्दा बढी पटक हेरिएको छ । यसलाई नेपालमा टिकटकको बढ्दो प्रभाव र त्यसले सांगीतिक क्षेत्रमा ल्याएको परिवर्तनको उदाहरणका रूपमा हेर्न सकिन्छ । सामाजिक सञ्जालको लोकप्रियता नै ‘कस्मिरे पछ्यौरी’को अचानक सफलता पछाडि मुख्य कारण बनेको देखिन्छ । गीतका शब्द र संगीत निश्चल दवाडीले तयार पारेका हुन् भने श्यामश्वेत रसाइलीले एरेन्ज गरेका हुन् । हेर्नुस भिडियो
गीतको म्युजिक भिडियो चित्लाङमा दुई दिन लगाएर खिचिएको थियो, जसमा बाबुकृष्ण परियार र केपिना गोतामेले अभिनय गरेका छन् । मौसम हिमालीको कथा तथा निर्देशनमा बनेको यस भिडियोमा नवराज उप्रेती र बुद्ध थापाको छायांकन तथा अमृत चापागाईँको सम्पादन रहेको छ । प्रारम्भमा कम लोकप्रियता हासिल गरेको भए पनि टिकटक जस्ता प्लेटफर्मले ‘कस्मिरे पछ्यौरी’ लाई नयाँ उचाइमा पुर्याएको छ, जसले नेपाली सांगीतिक क्षेत्रलाई प्रविधिको सही प्रयोगले कसरी फरक पार्न सक्छ भन्ने देखाएको छ ।
Discussion about this post