इटहरी / अन्तर्राष्ट्रिय पेजेन्ट कोच अनिला श्रेष्ठलाई वल्र्ड बुक अफ रेकर्ड्स लण्डनले ‘एक्सिलेन्स’ अवार्ड प्रदान गरेको छ। काठमाडौंमा आयोजित एक भव्य समारोहमा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले उप-प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको उपस्थितिमा उनलाई यो सम्मान हस्तान्तरण गरिन्।
अनिलालाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरूमा पुर्याएको योगदानको कदर गर्दै उक्त अवार्ड दिइएको हो। सोही कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरेको करिब दर्जनबढी व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो। सम्मानित हुने अन्य व्यक्तिहरूमध्ये अभिनेत्री चैत्यदेवी सिंह, संगीतकार दीपक जंगम, र हार्मोनियम मास्टर बिमल शाह लगायतका व्यक्तिहरू रहेका थिए।
श्रेष्ठले आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने ‘मिस एण्ड मिसेस हेरिटेज इन्टरनेशनल २०२४’ मा नेपालको प्रतिनिधित्व गर्ने उद्देश्यले काठमाडौंमा ‘मिस एण्ड मिसेस हेरिटेज इन्टरनेशनल नेपाल २०२४’ छनोट प्रतियोगिता सम्पन्न गरेकी छन्।
सन् २००५ देखि निरन्तर फेसन शो र सौन्दर्य प्रतियोगितामा सक्रिय अनिला श्रेष्ठले धेरै अन्तर्राष्ट्रिय उपाधिहरू नेपालमा भित्र्याउँदै आफ्नो पहिचान बनाएकी छिन्। उनले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको कोरियोग्राफीमा पनि महत्त्वपूर्ण भूमिका निभाएकी छन्। दुबईमा आयोजित ‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ मा उनले निर्णायकको भूमिकामा समेत योगदान पुर्याएकी थिइन्। श्रेष्ठले ग्रिन आर्ट मिडियामार्फत बिभिन्न सौन्दर्य प्रतियोगिताहरू आयोजना गर्दै आइरहेकी छिन्।
Discussion about this post