इटहरी / ‘अग्नीदहन’ फिल्मको टिजर सार्वजनिक भएको छ । यो फिल्म आगामी मसिर ७ गते रिलिज हुने तयारीमा छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित यो फिल्मको टिजर बुधबार सार्वजनिक गरिएको हो । एक मिनेट ११ सेकेन्डको टिजरमा महिलालाई बोक्सीको आरोप लगाई धामी झाक्रीबाट गरिने यातनालाई प्राथमिकता दिइएको छ । टिजरमा एक अधवैशे महिलाको क्रियाकलापबाट एक बालिका त्रसित भएको दृश्य समेत समावेश छ, जसले बालिकाको त्रासलाई विशेष स्थान दिएको छ ।
फिल्मका निर्देशक घनश्याम लामिछानेले मानिसहरू बोक्सी हुँदैनन् भन्ने सोचलाई देशव्यापी अभियानको रूपमा फैलाउन यो फिल्म निर्माण गरिएको बताएका छन् । यस फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, र तारा बहादुर गुरुङले अभिनय गरेका छन् । कोविदशरण उपाध्यायको परिकल्पना, लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, परिच्छेद सेनको पटकथा र मुख्य सहायक निर्देशन हुन् । हेर्नुस टिजर
यो फिल्ममा दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन र शंकर पाण्डेको प्रोडक्सन डिजाइन रहेको छ । यो फिल्म भारतको बिहारस्थित सीतामढीमा एसएसबी-२० औं बटालियनका कमाण्डेन्ट गिरीशचन्द्र पाण्डे र निर्माण पक्षको उपस्थितिमा प्रदर्शन गरिएको थियो । साथै, नेपालका निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले समेत फिल्म हेरेका छन् । चलचित्र विकास बोर्डले यस फिल्मलाई ‘विशेष चलचित्र अवार्ड’समेत प्रदान गरिसकेको छ ।















Discussion about this post